धनगढी, २ असार / बैतडीको सूर्नया गाउँपालिकाले गाडी भाडामा मात्रै आर्थिक वर्ष २०८०/०८१ मा २८ लाख भन्दा बढी भुक्तानी गरेको छ। कुन प्रयोजनको लागि गाडी प्रयोग गरेको हो भन्ने कुनै यकिन नगरी भाँडामा सम्झौता गरेर रकम भुक्तानी गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
पालिकासँग एउटा चारपाङ्ग्रे गाडी हुँदाहुँदै मर्मत सम्भार नगरेर गाडी भाडामा लिई प्रयोग गर्नु आर्थिक सदुपयोग नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ। महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ सकेसम्म बाह्य गाडीहरू भाडामा नलिने र लिनैपर्ने अवस्थामा भाडामा लिँदा स्पष्ट प्रयोजन खुलाई सार्वजनिक कोषको खर्चमा अधिकतम मितव्यीतालाई समेत ध्यानमा राखी लिनुपर्दछ, तर विशेषगरी गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुँवरले प्रयोग गर्ने भाडाको गाडीकै २८ लाख भुक्तानी भएकाले यसलाई ठूलो आर्थिक अनियमितता भएको मानिन्छ।
अध्यक्ष कुँवरले गाउँपालिकाको बिग्रेको गाडी बनाउन कुनै चासो नदिएको महँगोमा गाडी भाडामा लिदा आर्थिक सदुपयोग हुन नसकेको सर्वसाधारणको ठम्याई छ।
महालेखा परीक्षकको प्रतिवेदनमा यस वर्ष सवारी साधन मर्मतमा १९ लाख ७३ हजार ७ सय ४४, इन्धनमा कर्मचारीको लागि ४ लाख, कार्यालय प्रयोजनमा २० लाख , पदाधिकारीको लागि ३ लाख ५० हजार, सार्वजनिक निर्माणमा ९ लाख ९८ हजार १ सय ४२ गरी इन्धन तथा मर्मतमा मात्रै ५७ लाख २१ हजार ८ सय ८६ खर्च भएको देखिन्छ । तर पदाधिकारी , कर्मचारी तथा सार्वजनिक निर्माणमा खपत भएको इन्धन उपयोगको विवरण खुल्ने अध्यावधिक अभिलेख भने उपलब्ध छैनन्।
गाउँपालिकाको बिग्रेको गाडी नबनाउनु , भाडाको गाडीमा २८ लाख २३ हजार ३ सय ७२ खर्च गर्नु उपयुक्त नभएको सुर्नया युवा जागरण अभियानका संयोजक विशाल भट्टले बताए। भाडाको गाडीमा मात्रै औसतमा गाउँपालिकाले दैनिक ७ हजार ८ सय ६७ रुपैयाँ खर्च गरेको देखिन्छ।
गाडी भाडामा लिँदा इन्धन सवारी धनीकै हुने भए तापनि इन्धन खपत पनि उच्च देखिनुले आर्थिक अनियमितताको ठुलो चलखेल भएको युवा जागरण अभियानका संयोजक भट्टको भनाइ छ।
यता गाउँपालिकाका उपाध्यक्ष मञ्जु महरा,बोहराले पनि गाडी रिर्जव गरेको भुक्तानी लिएकाले विशेषगरी भाडाको गाडीको प्रयोग गाउँपालिकाका अध्यक्ष कुँवरले नै गरेको देखिन्छ।
थप जानकारीको लागि प्रतिवेदन हेर्नुहोस् :-