काठमाण्डौ– राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले ल्याएको आगामी आवको बजेट विभेदकारी भन्दै आलोचना गरेका छन् ।
सरकारले संघीयतालाई असफल बनाउने गरी बजेट ल्याएको उनको आरोप छ । प्रतिनिधिसभा बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा मंगलबार उनले यस्तो बताएका हुन् । ‘५० प्रतिशतभन्दा बढी जनसंख्या भएको मधेसलाई २० प्रतिशतभन्दा कम बजेट विनियोजन गरी सरकारले विभेदकारी नीति लिएको छ,’ उनले भने ।
उनले ६ करोड बजेट विनियोजन गरी सरकारले सांसदहरुलाई बदनामसमेत गराएको आरोप लगाए । उनले जनताकहाँ चुनावका बेला गरिएको सहमतिअनुसार विकास, निर्माणलाई अघि बढाउन योजना माग्नुको सट्टा सांसदहरुलाई ६ करोड विनियोजन गरी सरकारले गल्ती गरेको बताए ।
नेता महतोले विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र राष्ट्रिय गौरवका आयोजनाबाहेक सबै अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन सरकारसँग पटक–पटक माग गरे सुनुवाइ नभएको भन्दै गुनासो पनि गरे ।