धनगढी, २३ वैशाख / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारत भ्रमणको क्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग उच्चस्तरीय भेटघाट गरेका छन्। प्रदेशको भारतसँग जोडिएको सीमा क्षेत्रमा सहकार्य विस्तार र पूर्वाधार सुधारका लागि यो भ्रमण गरिएको बताइएको छ।
मुख्यमन्त्री शाहले लखनऊमा योगीसँगको छलफलमा सीमावर्ती क्षेत्रका सडक सुधार, लागूऔषध नियन्त्रण र पर्यटन प्रवर्द्धनका विषय उठाए। उनले कैलाली र कञ्चनपुर जोड्ने भारततर्फका सडकहरूको स्तरवृद्धिका लागि आग्रह गरेको जानकारी दिए। योगी आदित्यनाथले नेपालको विकासमा भारत सधैं सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरेका थिए।
शाह नेतृत्वको टोलीले उत्तरप्रदेश विधानसभाको पेपरलेस प्रणाली र मुख्यमन्त्रीको ‘कमान्ड डेस्क’ अवलोकन गरेका थिए। भारतको विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमणमा गएको १० सदस्यीय टोलीले दिल्लीमा विदेश राज्यमन्त्री तथा विवेकानन्द फाउन्डेसनसँग अन्तरक्रिया गरेका थिए। साथै, सुदूरपश्चिमको पश्चिम सेती र सेती नदी ६ जलविद्युत् आयोजनामा काम गरिरहेका एनएचपीसी कम्पनीका अधिकारीहरूसँग समेत छलफल भएको छ।
देहरादूनमा उत्तराखण्डका मुख्यमन्त्री धामीसँगको भेटमा दार्चुला, बैतडी र डडेलधुराका पुल निर्माण तथा सीमा क्षेत्रको पूर्वाधार विकासबारे चर्चा भयो। मुख्यमन्त्री शाहले सीमावर्ती क्षेत्रका नागरिकलाई पर्यटनमार्फत जोड्ने प्रयास भइरहेको बताए।
टोलीमा रहेका प्रदेशसभा सदस्य नरेश शाहीले भ्रमण निकै फलदायी भएको र आपसी सम्बन्ध सुदृढ भएको बताएका छन्।