“भोक लाग्दा आमा सम्झनु,
दुखि हुँदा आमा सम्झनु,
खुशी हुँदा पनि आमा सम्झनु
“नतमस्तक छु म, आमा,
तपाईंको मायामा, तपाईंको बलिदानमा।
तपाईंका हाँसोहरू मेरा सपना बने,
तपाईंका आँसुहरू मेरा पीर बने “
“जब आमा मुस्कुराउनुहुन्छ,
तारा पनि झुल्कन्छन् आकाशमा
जब आमा खुशी हुनुहुन्छ,
जीवन आफैंमा उत्सव बन्छ ” …..।
नेपाली समाजमा “आमाको मुख हेर्ने दिन“ विशेष स्थान राख्छ । बैशाख कृष्णपक्षको औंसीमा मनाइने यो दिन माताप्रति श्रद्धा, प्रेम र कृतज्ञता प्रकट गर्ने अनुपम अवसर हो। आमाको अनुहार हेर्न पाउनु भनेको जीवनको सम्पूर्ण ऊर्जा र प्रेरणाको दर्शन गर्नु हो। बाल्यकालदेखि नै हामी आमाको मायालु स्पर्श, मिठास बोकेको हाँसो र अथाह धैर्यताको छायाँमा हुर्किन्छौं । आमा केवल जन्म दिने पात्र मात्र होइनन; उहाँ जीवनका हरेक मोडमा स्नेह, शिक्षा र सहाराको प्रतिक हुनुहुन्छ ।
संसारका सबै भाषाहरूको शब्दहरूले पनि आमाको माया बयान गर्न सक्दैनन्। जब हामी जीवनका संघर्षहरूमा थाकेर लम्किन्छौं, आमाको काख अझै पनि सुरक्षित आश्रयझैं लाग्छ। निःस्वार्थ माया दिने आमा सधैं आफ्ना सन्तानको खुशीमा रमाउँछिन्, आफ्ना पीडालाई मुर्केर मुस्कान बाँड्छिन् । कहिले कहिले आमा आफैं भित्रभित्रै रुँदै पनि छोराछोरीको आँसु पुछिरहनुहुन्छ । यही त्याग र मायाको श्रद्धामा हामी आमाको मुख हेर्ने दिन मनाउँछौं ।
आजको व्यस्त जीवनशैलीमा हामी प्रायः आमाको महत्व बुझ्न ढिलो गर्छौं। जब समय टाढिन्छ, अनि बल्ल थाहा हुन्छ – आमाको अङ्गालोभन्दा ठूलो सुरक्षा संसारमा केही छैन। आजका दिन, हामीले आमालाई माला लगाई, मीठा मिठाइहरू खुवाई, उहाँप्रति आभार प्रकट गर्छौं । तर आमा केवल औपचारिक सम्मानको दिनमा सम्झनु पर्याप्त हुँदैन। हरेक दिन आमाप्रति कृतज्ञ हुनुपर्छ। सानोतिनो कामबाट उहाँलाई खुशी बनाउन सकिन्छ — एक मीठो गफ, एक समय सँगै बिताइएको बिहान, वा सहृदयताको सानो स्पर्श ।
आमाको मुख हेर्ने दिनले हामीलाई सम्झाउँछ — धन, पद, र प्रतिष्ठाभन्दा माथि आमाको माया अनमोल छ। संसारमा जे जति उपलब्धि प्राप्त गरे पनि, यदि आमा खुसी छैनन् भने त्यो सफलता अपुरो लाग्छ। आमा हुनु आफैंमा एउटा चमत्कार हो; हजारौं पीडालाई चुपचाप सहेर सन्तानलाई फुलझैं फक्राउन दिनुहुन्छ ।
आज, आमाको मुख हेर्दै हामी आफैंसँग पनि एक वाचा गरौं — जहाँसम्म सकिन्छ, आमालाई खुशी राख्ने । उहाँको स्वास्थ्य, खुशी र सम्मानमा कुनै कमी नआओस् । जब आमा मुस्कुराउनुहुन्छ, तब मात्रै हामीले साँचो सफलता पाएका हुन्छौं । मातातीर्थ औंशीको शुभकामना ।
लेखक : सुरेश बम, लम्कीचुहा ९ प्रतापपुर, कैलाली