काठमाडौं । ‘नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापनसम्बन्धी तथ्य विवरण’ सार्वजनिक भएको छ । मंगलबार रक्षामन्त्री नेपाल ट्रष्ट संचालक समिति अध्यक्ष ईश्वर पोखरेलले स्वेतपत्र सार्वजनिक गरेका हुन् । स्वेतपत्र सार्वजनक गर्दै उनले नेपाल ट्रष्टको नाममा रहेको १ सय ७२ रोपनि जग्गा हिनामिना भएको स्वीकार गरेका छन् ।
यसबाहेक अरु कुनै पनि सम्पत्ति अपचलन नभएको उनले दाबी गरे । पोखरेलले मातातीर्थको ५९ रोपनी १ आना ३ दाम, थानकोट महादेवस्थानको १ सय २ रोपनी ३ दाम, सतुंगलको १ रोपनी ६ आना १ दाम, र बालाजु ९इचंगु०को १० रोपनी ६ आना १ दाम गरी कुल १ सय ७२ रोपनी १५ आना जग्गा नक्कली मोही खडा गरी कानुनविपरीत नामसारी भएको पाइएको स्वीकार गरेका हुन् । ‘नेपाल ट्रष्टको सम्पत्ति कहीँकतै कानुनविपरीत प्रयोग र संचालन भएको छैन ।
१ सय ७२ रोपनी जग्गा कुन सरकारको पालामा कसरी नक्कली मोही खडा गरेर नामसारी भएको छ भनेर हामीले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगलाई जानकारी गराएका छौं,’ उनले भने । ‘तत्कालीन नेपाल टष्टका संरक्षक प्रधानमन्त्री डा।बाबराम भट्टराई तथा नेपाल ट्रष्ट संचालक समितिका अध्यक्ष विजयकुमार गच्छदार रहेको अवधिमा मिति २०६९ कात्तिक ०२ गते बसेको मन्त्रिपरिषद विधेयक समितिको निर्णयानुसार नेपाल ट्रष्टको कार्यालयको स्वामित्वको पुरै १७२ रोपनी १५ आना जग्गा मोही तथा निजको हकवालाको नाममा नामसारी भई गएको ।’ पहिलो बुँदामा नै भनिएको छ ।