धनगढी, १० पुस / धनगढीमा स्वर्गीय उसु खेलाडी निता खड्का प्रति समर्पित प्रथम निता स्मृति राष्ट्रिय उसु (सुन्दा)प्रतियोगिता २०८१ हुने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा खुलामञ्चसँगै रहेको कर्मचारी सञ्जयकोषको खुला मैदान धनगढीमा उक्त प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
उसु खेलाडी स्वर्गीय निताप्रतिको सम्मानका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले उक्त प्रतियोगिताको आयोजना गरेको सुदूरपश्चिम प्रदेश उसु संघ धनगढीका अध्यक्ष राजीव गुप्ताले बताए। प्रतियोगिता यही पुस १४ देखि १६ गतेसम्म सञ्चालन गर्ने गरी तयारी थालिएको छ।
यस प्रतियोगितामा तीन विभागीय सहित सातै प्रदेशका १० वटा टिमहरूको सहभागिता रहने छ । साथै सिनियर र जुनियर गरी उसु खेलमा रहेका दुई थाओलु र सान्दा विधा कै एक महत्वपूर्ण सान्दा विधा मात्र सञ्चालन गरिने समेत आयोजकले जानकारी दिए।
प्रतियोगितामा सिनियर र जुनियर गरी जम्मा १९६ खेलाडीको सहभागिता हुँदैछ। जसमा पुरुषतर्फ १०८ र ८८ महिला खेलाडीको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।