काठमान्डौं, ६ पुस / नेपाली प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटमा एउटा नयाँ उचाइ बनाउँदै सफलतापूर्वक सम्पन्न हुँदैछ। यो प्रतियोगिताले क्रिकेटप्रतिको नेपालीहरूको चासो र उत्साहलाई अझ उचाइमा पुर्याएको छ। तीन सातासम्म देशभरका दर्शकहरू एनपीएलका खेलहरूसँग जोडिएर रहनु यो लिगको सफलता दर्शाउँछ।
फाइनल खेल आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच हुँदैछ। यी दुवै टिमले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कारण यो खेल अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
आजको विजेता टालीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउने छ भने, उपविजेताले ५१ लाख रुपैयाँ नगद पुरस्कार पाउने घोषणा क्याने गरिसकेको छ ।
यो पुरस्कार रकम नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो, जसले प्रतियोगितालाई थप महत्त्वपूर्ण बनाएको छ। एनपीएलको यो सफल आयोजनाले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्याउने सम्भावना बलियो बनाएको छ।
