धनगढी, २२ भदौ / लामो समयदेखि बजेटविहीन अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले भदौ मसान्तभित्रै नयाँ बजेट ल्याउने तयारी थालेको छ। मुख्यमन्त्री खगराज भट्टले बजेट निर्माणका लागि आवश्यक नीतिगत आधार तयार भइसकेकाले अब प्रक्रिया तीव्र गतिमा अघि बढ्ने बताएका छन्।
सत्तासाझेदार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा समेत प्रदेशको बजेटलाई प्राथमिकतामा राखिएको छ। मुख्यमन्त्री भट्टका अनुसार मन्त्रालयहरूलाई बजेट निर्माणका लागि आवश्यक मार्गदर्शन उपलब्ध गराउने तयारी भइरहेको छ।
मन्त्रालयहरूले बजेट तयार गर्दा अपनाउनुपर्ने आधार र प्राथमिकता समेटिएको मार्गदर्शन तयार भइसकेको तथा मुख्यमन्त्रीको तर्फबाट दिइने थप नीतिगत निर्देशनको मस्यौदा निर्माणको चरणमा रहेको उनले बताए।
भट्टका अनुसार नीतिगत मार्गदर्शन स्पष्ट भएकाले बजेट निर्माणमा विगतजस्तो लामो समय लाग्ने अवस्था छैन। त्यसैले छोटो प्रक्रियाबाट काम अघि बढाएर भदौ मसान्तभित्र प्रदेशसभामा बजेट प्रस्तुत गर्न सकिने सरकारको विश्वास छ।
उनका अनुसार सरकारको प्राथमिकता केवल बजेट ल्याउनु मात्रै नभई प्रदेश सरकारको औचित्य र प्रभावकारिता स्थापित गर्नु पनि हो। प्रदेशले जनताको अपेक्षाअनुसार काम गरिरहेको अनुभूति दिलाउने गरी बजेट तथा कार्यक्रम निर्माण गरिने उनले बताए।