बझाङ, १८ भदौ / बझाङको दुर्गम साइपाल गाउँपालिकामा साउनको अन्तिम सातादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाको वडा नम्बर ३ का काया, बाँझचौका, चुझाड, लासी, माझलासीलगायत गाउँमा अधिकांश घरका सदस्य बिरामी परेको स्थानीयले दीपक धामीले बताए।
बिरामीमा ज्वरो आउने, खोकी लाग्ने, हातखुट्टा दुख्ने तथा शरीर कमजोर हुने जस्ता लक्षण देखिएका छन् । स्थानीयका अनुसार वडा नम्बर ३ मा मात्रै ८० जनाभन्दा बढीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको छ ।
साइपाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जयराज जोशीका अनुसार अहिले स्वास्थ्य संस्थामा दैनिक १५ देखि २० जना बिरामी उपचारका लागि आउने गरेका छन् । वडा नम्बर १ र २ मा देखिएको भाइरल ज्वरो नियन्त्रण उन्मुख रहे पनि वडा नम्बर ३ मा भने बिरामीको सङ्ख्या बढिरहेको उनले बताए ।
एकै पटक ठुलो सङ्ख्यामा बिरामी बढेपछि स्वास्थ्य संस्थामा आवश्यक औषधीको अभाव देखिएको छ । विशेष गरी सिटामोल, इन्जेक्सन, एन्टिबायोटिकलगायत औषधी पर्याप्त नहुँदा उपचारमा समस्या भएको स्थानीयको गुनासो छ ।
स्वास्थ्य शाखा प्रमुख जोशीका अनुसार आवश्यक पर्ने करिब १० प्रकारका औषधी आपूर्तिको प्रक्रिया अघि बढाइएको छ ।