धनगढी १८ भाद्र/भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि धनगढीस्थित खप्तड यातायात प्रालिले ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
देशमा विपद् आइपर्दा पीडित नागरिकको दुःखमा साथ र एक्यबद्धता जनाउँदै राहतका लागि आर्थिक सहयोग गरिएको खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले जानकारी दिए।अध्यक्ष जोशीका अनुसार प्रालिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको छ। विपद्को समयमा पीडितको उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत रूपमा सहयोग गरिएको उनले बताए।
भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएका छन्। विपद्को यस घडीमा राज्यसँगै निजी क्षेत्र, संघसंस्था तथा सर्वसाधारणबाट समेत राहत तथा उद्धारका लागि सहयोग जुटाउने क्रम जारी छ।
खप्तड यातायात प्रालिले सुदूरपश्चिम प्रदेशसहित विभिन्न गन्तव्यमा यात्रु तथा यातायात सेवा प्रदान गर्दै आएको छ। यात्रुको सहज, सुरक्षित र भरपर्दो यात्रालाई प्राथमिकता दिँदै प्रालिले नियमित बस सेवा सञ्चालन गर्दै आएको जनाएको छ। प्रालिले यात्रुको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न रुटमा नियमित यातायात सेवा उपलब्ध गराउँदै आएको छ। सार्वजनिक यातायातको माध्यमबाट यात्रुलाई सुरक्षित तथा सुविधाजनक यात्रा सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद् तथा सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको प्रालिले जनाएको छ।