डोटी, १५ भदौ / सुजङ्ग बोर्डिङ स्कुल, राजपुर डोटीले रसुवाका बाढीपीडितका लागि २ लाख रुपैयाँ राहत रकम सहयोग गरेको छ।
विद्यालयको तर्फबाट संकलित राहत रकम जिल्ला प्रशासन कार्यालय डोटीमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको हो। बाढी तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विद्यालयले राहत रकम उपलब्ध गराएको स्कुलका निर्देशक नरेश बलायरले जानकारी दिए।
राहत रकम हस्तान्तरण कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कल्पना साउद, कार्यकारी निर्देशक नरेश बलायर, सुजङ्ग अस्पतालका निर्देशक अर्जुन बलायर, सुजङ्ग बोर्डिङ स्कुलका प्रधानाध्यापक कठायत लगायतको सहभागिता रहेको थियो।
सुजङ्ग बोर्डिङ स्कुलले शिक्षा क्षेत्रमा मात्र नभई सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा समेत आफ्नो भूमिका निर्वाह गर्दै आएको जनाएको छ। रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा केही सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको विद्यालयको भनाइ छ।