धनगढी १२ भाद्र/नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक र दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम बाढीपीडितको राहत तथा मानवीय सहायताका लागि प्रदान गर्ने घोषणा गरेका हुन्।
संसदीय दलका अनुसार प्रदेशसभा सदस्यहरूको योगदानबाट ३ लाख ६० हजार ८ सय ३३ रकम संकलन हुनेछ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइने जनाइएको छ।
भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संसदीय दलले विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै पक्षलाई सहयोगमा जुट्नसमेत आग्रह गरेको छ।