धनगढी , ८ भदौ / सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माणका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई दबाब दिने क्रम बढेको छ । प्रदेश सभाको दोस्रो कार्यकाल सकिन लाग्दा पनि स्थायी राजधानी निर्माणको काम सुरु हुन नसक्दा हाल यस क्षेत्रका नागरिक अगुवा, राजनीतिक दलहरूले दबाब बढाउन लागेका हुन ।
अघिल्लो कार्यकालको प्रदेश सभाले दुई तिहाइ बहुमतबाट २०७५ असोज १२ गते गोदावरी नगरपालिका–२ र ४ मा तोकिएको भए पनि हालसम्म पनि भौतिक प्रगतिको काम शून्य छ । बहुमतले तोकेको राजधानी आठ वर्ष पुग्नै लाग्दा पनि कार्यान्वयनमा आउन नसकेपछि हाल यस क्षेत्रका नवनियुक्त मुख्यमन्त्रीलाई दबाब दिन थालिएको हो ।
नेकपा एमाले कैलाली क्षेत्र नं. ४ समन्वय कमिटीले प्रदेशको घोषित क्षेत्रमा राजधानी निर्माण गर्ने लगायतका विभिन्न मागहरू राख्दै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । समन्वय कमिटीका संयोजक गणेश जिमी साउँदले प्रदेशका मुख्यमन्त्री खगराज भट्ट, सामाजिक विकास मन्त्री सन्तोष कुमारी शर्मा (थापा), आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्ल तथा कृषि मन्त्री दमन बहादुर भण्डारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा सुदूरपश्चिम प्रदेश सभाको २०७५ असोज १२ गतेको बैठकबाट दुई तिहाइ भन्दा बढी बहुमतले घोषणा गरेको कैलालीको गोदावरी नगरपालिका– २ र ४ तेघरी क्षेत्रमा अझै सम्म राजधानी निर्माणको प्रक्रिया सुरु नहुनु प्रदेशबासीहरुका लागि चिन्ताको विषय भएको उल्लेख गरिएको छ ।
यसअघि जय गोदावरी अभियानले पनि गोदावरीमा राजधानी कार्यान्वयनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो । यस गोदावरी अभियानका संयोजक धन बहादुर बोगटीले ठोस कार्य योजना, आवश्यक बजेट र समय सीमा सहित स्थायी राजधानी गोदावरी निर्माणको काम तत्काल अघि बढाउन माग गरिएको बताए ।