धनगढी, ६ भदौ / कला, संस्कृति तथा गाईजात्रा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी तीव्र पारिएको छ। कार्यक्रमलाई थप प्रभावकारी बनाउन बैतडीको पाटन नगरपालिका प्रवद्र्धकका रूपमा जोडिएको आयोजकले जनाएको छ।
कार्यक्रम यही भदौ १७ गते धनगढीस्थित एस.टी.एस. सिनेमा हलमा आयोजना हुँदैछ। कार्यक्रम हुन अब ११ दिन मात्रै बाँकी रहेकाले तयारीलाई तीव्र पारिएको आयोजक बैजनाथ सञ्चार प्रालिले जनाएको हो ।
कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकारसँगै वरिष्ठ हास्य–व्यंग्य कलाकार तथा अभिनेताहरूको प्रस्तुति रहनेछ। व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा मौलिक लोक-सांस्कृतिक प्रस्तुतिका साथै लागुऔषध दुव्र्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदलगायत समसामयिक विषयलाई हास्य–व्यंग्यका माध्यमबाट प्रस्तुत गरिने आयोजकले जनाएको छ।
पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले सुदूरपश्चिमको कला, संस्कृति र मौलिक परम्पराको संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै गाईजात्रा संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउन कार्यक्रम सहयोगी बन्ने उनको विश्वास छ।
“सुदूरपश्चिमको कला, संस्कृति र मौलिक परम्पराको संरक्षण सबैको साझा जिम्मेवारी हो। यस्ता कार्यक्रमले स्थानीय प्रतिभालाई अवसर दिनुका साथै हाम्रो संस्कृति नयाँ पुस्तासम्म पुर्याउन सहयोग गर्छ,” नगरप्रमुख रावलले भने।
कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकले कार्यक्रमलाई अघिल्लो संस्करणभन्दा थप व्यवस्थित र प्रभावकारी बनाउने गरी तयारी भइरहेको बताए। कलाकारको प्रस्तुति, मञ्च व्यवस्थापन, यातायात तथा दर्शकको सहभागितालगायतका पक्षलाई विशेष प्राथमिकतामा राखिएको उनको भनाइ छ।
“कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउने तयारीमा छौँ। कलाकारको प्रस्तुति र मञ्च व्यवस्थापनसँगै कलाकार तथा दर्शकको सहजता र सुरक्षालाई पनि प्राथमिकतामा राखेका छौँ,” पाठकले भने।
त्यस्तै कार्यक्रमकी संयोजक सरस्वती खड्का भट्टले सुदूरपश्चिमको मौलिक कला, भाषा, संस्कृति र प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन्। गाईजात्रा परम्परालाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै सामाजिक विकृति र विसंगतिमाथि हास्य-व्यंग्यका माध्यमबाट सकारात्मक बहस सिर्जना गर्ने कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ।
“गाईजात्रालाई मनोरञ्जनमा मात्रै सीमित नराखी समाजमा रहेका विकृति र विसंगतिमाथि सकारात्मक सन्देश दिने माध्यमका रूपमा प्रस्तुत गर्ने हाम्रो प्रयास हो। स्थानीय कलाकार र सुदूरपश्चिमको मौलिक संस्कृतिलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखेका छौँ,” भट्टले भनिन्।
आयोजकका अनुसार कार्यक्रमलाई सफल बनाउन विभिन्न प्रवद्र्धक तथा सहयोगीहरू जोडिँदै गएका छन्। पाटन नगरपालिकाको सहकार्यले सुदूरपश्चिमको कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवद्र्धनमा थप ऊर्जा मिलेको आयोजकको भनाइ छ।