धनगढी, ५ साउन / सुदूरपश्चिम प्रदेश सरकार विस्तारको तयारी भइरहे पनि सत्तारूढ नेकपाभित्र मन्त्री छनोटको विषयमा सहमति जुट्न सकेको छैन। मुख्यमन्त्री खगराज भट्टले आफ्नै पार्टीबाट मन्त्रीका लागि नाम टुंगो लगाउन नसकेपछि आकांक्षीहरूको नाम केन्द्रमा पठाइएको छ।
मुख्यमन्त्री भट्टले यसअघि विश्वासको मत लिएलगत्तै सरकार विस्तारलाई पूर्णता दिने बताउँदै आएका थिए। हिजो सञ्चारकर्मीसँग कुरा गर्दै उनले एक-दुई दिनभित्रै सरकार विस्तार हुने र त्यसका लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा पुगेको बताएका थिए।
मन्त्री छनोटका लागि नेकपाका प्रदेश इन्चार्ज भानुभक्त जोशी, प्रदेश संयोजक हरिराम चौधरी ‘उत्सव’ र संसदीय दलका नेता तथा मुख्यमन्त्री खगराज भट्ट रहेको तीन दलीय कार्यदल गठन गरिएको थियो। कार्यदलले पटक–पटक छलफल गरे पनि आकांक्षीबीच सर्वसम्मत हुन नसकेपछि अन्ततः सबै नाम केन्द्रमा पठाउने निर्णय गरिएको हो।
प्रदेश इन्चार्ज भानुभक्त जोशीका अनुसार मन्त्री बन्न चाहने सबै आकांक्षीको नाम केन्द्रमा पठाइएको छ। उनले केन्द्रले नाम टुंगो लगाएर प्रदेशमा पठाएपछि सोहीअनुसार मन्त्री नियुक्त गरिने बताए।
सरकारमा तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न कार्यदलले १२ जनाको नाम सिफारिस गरेको छ। साबिक नेकपा माओवादीबाट सात, साबिक नागरिक उन्मुक्ति पार्टीबाट तीन र साबिक नेकपा एकीकृत समाजवादीबाट दुई जनाको नाम सिफारिस गरिएको छ।
साबिक माओवादीबाट ओमविक्रम भाट ‘सरल’, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, झपट साउद, लक्ष्मी विक र जानकी पौडेलको नाम सिफारिस भएको छ। त्यस्तै साबिक नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरी तथा साबिक नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाहीको नाम केन्द्रमा पठाइएको छ।
प्रदेशबाट सिफारिस भएका १२ जनामध्येबाट केन्द्रले तीन जनाको नाम छनोट गरी पुनः प्रदेशमा पठाउने तयारी छ। उनीहरूलाई भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।
यसअघि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री भट्टले आर्थिक मामिला मन्त्रीमा चक्र मल्ल, सामाजिक विकास मन्त्रीमा सन्तोषी थापा शर्मा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारीलाई नियुक्त गरिसकेका छन्। एमालेकै तर्फबाट जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त भइसकेकी छन्।
अब नेकपाले केन्द्रबाट मन्त्रीका लागि नाम आएलगत्तै तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेर प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेको छ। तर, आफ्नै पार्टीभित्र आकांक्षी धेरै भएपछि मुख्यमन्त्री भट्टले प्रदेशस्तरमै मन्त्रीको नाम टुंग्याउन नसक्नुले सरकार विस्तारमा ढिलाइ भएको देखिएको छ।