धनगढी, २ भदौ / गत प्रदेशसभा निर्वाचन २०७९ मा कैलाली क्षेत्र नम्बर ५ (२)बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रकाशबहादुर देउवा ०८२ असोजयता प्रदेशसभा बैठकमा उपस्थित भएका छैनन्। उनी हाल अमेरिकामा छन्। तर, प्रदेशसभा सचिवालयले भने उनको बैंक खातामा नियमित रूपमा पारिश्रमिक तथा अन्य सुविधा भुक्तानी गरिरहेको पाइएको छ।
प्रदेशसभा सचिवालयका अनुसार आर्थिक वर्ष ०८२/८३ मा देउवालाई पारिश्रमिक र विभिन्न सुविधाबापत कुल १० लाख ३ हजार ५ सय रुपैयाँ भुक्तानी निर्धारण गरिएको थियो। कर कटौतीपछि उनको खातामा ९ लाख १३ हजार ५ सय रुपैयाँ जम्मा गरिएको छ।
सचिवालयको विवरणअनुसार देउवाले अन्य सांसदसरह मासिक ५६ हजार ५ सय रुपैयाँका दरले वार्षिक ७ लाख ७८ हजार रुपैयाँ पारिश्रमिक, धारा तथा बिजुलीका लागि २४ हजार, सञ्चार सुविधाबापत ३६ हजार र अतिथि सत्कारका लागि ८४ हजार रुपैयाँ पाएका छन्। यस्तै, निजी आवास मर्मतसम्भारबापत वार्षिक ३५ हजार रुपैयाँसमेत उपलब्ध गराइएको छ।
०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि देउवा प्रदेशसभा सचिवालयलाई जानकारी नदिई अमेरिका पुगेका थिए। प्रदेशसभा नियमावली २०८० को धारा १(३)अनुसार लगातार १० वटा बैठकमा जानकारी नदिई अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था छ। तर, आफू अमेरिका रहेको जानकारी उनले १०औँ बैठकमा सभामुखलाई गराएका थिए।
उक्त जानकारीपछि सभामुख भीमबहादुर भण्डारीले देउवाको पद यथावत राखेका छन्। देउवा हालसम्म पनि अमेरिकामै रहेका छन्।