धनगढी, ३० साउन / ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’मा जोरायल गाउँपालिका प्रवद्र्धकका रूपमा जोडिएको छ। सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा तथा गाईजात्रा परम्पराको संरक्षण र प्रवद्र्धन गर्दै हास्य–व्यंग्यमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ मा जोरायल गाउँपालिका प्रवद्र्धकका रूपमा जोडिएको हो।
बैजनाथ सञ्चार प्रालिको आयोजनामा आगामी भदौ १७ गते धनगढीस्थित एस।टी।एस। सिनेमा हलमा कार्यक्रम आयोजना हुने भएको हो। कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकारसँगै वरिष्ठ हास्य–व्यंग्य कलाकार तथा अभिनेताहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त आझाले सुदूरपश्चिमको कला, संस्कृति र स्थानीय कलाकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रम भएकाले गाउँपालिकाले सहकार्य गरेको बताए। उनले मौलिक कला तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै कलाकारको प्रोत्साहन र सामाजिक विषयमा जनचेतना अभिवृद्धि गर्न कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकले अघिल्लो संस्करणभन्दा यसपटकको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी भइरहेको बताए। उनका अनुसार कलाकारहरूको प्रस्तुति, यातायात, मञ्च व्यवस्थापन तथा दर्शक सहभागितालाई व्यवस्थित बनाउने गरी आवश्यक तयारी अघि बढाइएको छ।
कार्यक्रमकी मुख्य संयोजक सरस्वती खड्का भट्टले सुदूरपश्चिमको मौलिक कला, भाषा, संस्कृति र स्थानीय प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्दै गाईजात्रा परम्परालाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन्।उनका अनुसार कार्यक्रममा व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा विभिन्न मौलिक लोक–सांस्कृतिक प्रस्तुति रहनेछन्।
मनोरञ्जनसँगै समाजमा देखिएका विकृति र विसंगतिमाथि व्यंग्यात्मक प्रस्तुति दिँदै सकारात्मक सन्देश प्रवाह गर्ने तयारी गरिएको छ।आयोजकका अनुसार कार्यक्रममा लागुऔषध दुव्र्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेद लगायतका समसामयिक विषयलाई हास्य–व्यंग्यमार्फत प्रस्तुत गरिनेछ।‘
सुदूरपश्चिम गाईजात्रा सिजन–२’ मनोरञ्जनमा मात्र सीमित नरही सामाजिक विकृति तथा विसंगतिमाथि सकारात्मक बहस सिर्जना गर्ने, स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने र सुदूरपश्चिमको मौलिक गाईजात्रा परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यमा केन्द्रित हुने आयोजकले जनाएको छ।सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गाईजात्रा परम्परालाई समसामयिक सामाजिक मुद्दासँग जोड्दै आयोजना हुन लागेको कार्यक्रमले स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।