धनगढी, २९ साउन / सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित आगामी भदौ १७ गते ‘सुदूरपश्चिम गाइजात्रा सिजन-२’ भव्य रूपमा आयोजना हुन गैरहेको छ । कार्यक्रममा बडिकेदार क्षेत्र पर्यटन विकास समिति प्रवर्द्धकका रूपमा रहने भएको छ।
धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको बडिकेदार क्षेत्रलाई व्यापक रूपमा प्रचार-प्रसार गर्दै सुदूरपश्चिमको सांस्कृतिक विविधता र पर्यटन सम्भावनालाई देशभर चिनाउने अभियानसँग कार्यक्रमलाई जोडिएको छ। बडिकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमले कार्यक्रमबारे जानकारी दिँदै सुदूरपश्चिमको कला, संस्कृति, मौलिक परम्परा र पर्यटनलाई एउटै मञ्चबाट राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यले समितिले प्रवर्द्धकीय भूमिका निर्वाह गर्न लागेको बताए ।
अध्यक्ष बमले बडिकेदार धामसहित सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको व्यापक प्रचार–प्रसार गर्दै पर्यटन विकासमा नयाँ सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिए ।
गाइजात्रा केवल मनोरञ्जनको कार्यक्रम नभई सुदूरपश्चिमको कला, संस्कृति, लोकपरम्परा, भाषा, भेषभूषा र मौलिक पहिचानलाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ। बडिकेदार क्षेत्र पर्यटन विकास समितिले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्राथमिकतामा राख्दै बडिकेदार धामसहित सुदूरपश्चिमका विभिन्न पर्यटकीय गन्तव्यको प्रचार–प्रसार र प्रवर्द्धनमा निरन्तर पहल गर्दै आएको छ।
आगामी भदौ १७ गते हुने ‘सुदूरपश्चिम गाइजात्रा सिजन–२’ ले सुदूरपश्चिमको सांस्कृतिक गौरवसँगै बडिकेदार धामलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्न नयाँ ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।