धनगढी, २८ साउन / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अनुरोधमा बिहीबार प्रदेश सभा बैठक बस्दैछ। प्रदेश सभामा विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाएपछि सभामुख भीमबहादुर भण्डारीले बिहीबार साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन्।
गत ३१ असारमा नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ। त्यसपछि मुख्यमन्त्री शाहले विश्वासको मत प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाउन आग्रह गरेका थिए।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीको विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइएको हो।
तर, मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना नरहेपछि प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ। प्रदेश सभामा सम्बोधन गरेपछि उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार जोगाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। हाल मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८ सांसदको समर्थन रहेको छ। कांग्रेस सांसद प्रकाश देउवा भने हाल अमेरिकामा छन्।
सरकार जोगाउन कांग्रेसको समर्थनबाहेक थप सांसदको समर्थन आवश्यक पर्ने भए पनि आवश्यक संख्या जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाह राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।
मुख्यमन्त्री शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। नेकपा र नेकपा (एमाले)ले नयाँ सरकार गठन गर्ने तयारी गरेका छन्। नयाँ गठबन्धनबाट नेकपाका खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ।