धनगढी,२७ साउन / सुदूरपश्चिमको मौलिक कला, संस्कृति र हास्य-व्यंग्यलाई एउटै मञ्चमा प्रस्तुत गर्ने ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को समय नजिकिँदै गएको छ। आगामी भदौ १७ गते धनगढीमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय हास्य कलाकार मनोज गजुरेलसँगै सुदूरपश्चिमका चर्चित हास्य कलाकारहरूको विशेष प्रस्तुति रहने भएकाले कार्यक्रमप्रति दर्शकको चासो बढ्दै गएको हो ।
गाईजात्राको मौलिक परम्परालाई समसामयिक हास्य–व्यंग्यसँग जोड्दै सामाजिक विकृति, विसंगति र समसामयिक विषयलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ। राष्ट्रियस्तरमा लोकप्रिय मनोज गजुरेल र सुदूरपश्चिमका स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।
गजुरेलले स्थानीय कला, संस्कृति र कलाकारलाई राष्ट्रियस्तरको मञ्चसँग जोड्ने अवसरका रूपमा कार्यक्रमलाई लिनुपर्ने बताए। सुदूरपश्चिमको आफ्नै मौलिकता र स्थानीय कलाकारको प्रतिभालाई हास्य–व्यंग्यको माध्यमबाट दर्शकमाझ पुर्याउने प्रयास सकारात्मक रहेको उनको भनाइ छ।
कार्यक्रमको मिति नजिकिँदै जाँदा आयोजकले तयारीलाई समेत तीव्रता दिएको जनाएको छ। स्थानीय तहको साथ तथा निजी क्षेत्रको सहयोगमा आयोजना हुन लागेको कार्यक्रमले मनोरञ्जनसँगै सुदूरपश्चिमको कला, संस्कृति र पहिचानलाई थप उजागर गर्ने विश्वास गरिएको छ।
सुदूरपश्चिमका हास्य कलाकारहरूले पनि स्थानीय भाषा, शैली र परिवेशमार्फत समाजका विकृति तथा विसंगतिमाथि व्यंग्य गर्दै मनोरञ्जनसँगै सामाजिक सन्देश दिने अवसरका रूपमा कार्यक्रमलाई लिएका छन्।
कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकले पहिलो संस्करणबाट प्राप्त अनुभवका आधारमा यसपटक कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी भइरहेको बताए। उनका अनुसार कार्यक्रम सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
मुख्य संयोजक सरस्वती कुमारी खड्का भट्टले सुदूरपश्चिमका कलाकारलाई सम्मानजनक मञ्च प्रदान गर्नुका साथै मौलिक कला, भाषा, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन्।
कार्यक्रममा स्थानीय तहहरूको साथ र निजी क्षेत्रको सहयोग रहेको आयोजकले जनाएको छ। स्थानीय तहबाट प्राप्त प्रवर्द्धन तथा सहयोगले कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको आयोजकको भनाइ छ।
त्यस्तै, निजी क्षेत्रबाट समेत कार्यक्रमको व्यवस्थापन तथा प्रवर्द्धनमा सहयोग प्राप्त भएको छ। सांस्कृतिक गतिविधि र स्थानीय प्रतिभाको विकासमा निजी क्षेत्रको सहभागिताले कलाकार तथा सिर्जनशील क्षेत्रलाई थप प्रोत्साहन मिल्ने आयोजकले जनाएको छ।
कार्यक्रममा व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा मौलिक लोक–सांस्कृतिक प्रस्तुति रहनेछ। साथै लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदजस्ता समसामयिक विषयलाई हास्य–व्यंग्यमार्फत प्रस्तुत गरिनेछ।
स्थानीय तहको साथ र निजी क्षेत्रको सहयोगमा आयोजना हुन लागेको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ले मनोरञ्जनसँगै मौलिक संस्कृति संरक्षण र सामाजिक सचेतनालाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ।