धनगढी,२५ साउन / आगामी भदौ १७ गते धनगढीमा आयोजना हुने ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ को मुख्य प्रवर्धकमा बेलौरी नगरपालिका रहने भएको छ।
सुदूरपश्चिमको मौलिक कला, संस्कृति तथा गाईजात्रा परम्पराको संरक्षण र प्रवद्र्धनसँगै हास्य–व्यंग्यमार्फत सामाजिक सचेतना फैलाउने उद्देश्यले बैजनाथ सञ्चार प्रालिको आयोजनामा कार्यक्रम हुन लागेको हो।मुख्य प्रवद्र्धकका रूपमा बेलौरी नगरपालिका र आयोजकबीच आज सम्झौता भएको छ।
नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरी र कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकबीच सम्झौतामा हस्ताक्षर भएको हो।सम्झौतापछि नगरप्रमुख चौधरीले सुदूरपश्चिमको कला, संस्कृति र स्थानीय प्रतिभाको प्रवद्र्धनमा निजी क्षेत्रले समेत भूमिका निर्वाह गर्नुपर्ने बताए। मनोरञ्जनसँगै सामाजिक विकृति र विसंगतिविरुद्ध जनचेतना फैलाउने उद्देश्यले आयोजना हुन लागेको गाईजात्रा कार्यक्रममा सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए।
स्थानीय कलाकार तथा मौलिक संस्कृतिको संरक्षणका लागि हुने यस्ता गतिविधिमा आगामी दिनमा पनि नगरपालिकाले आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता चौधरीले व्यक्त गरे।आयोजकका अनुसार स्थानीय कला, संस्कृति तथा सामाजिक विषयवस्तुलाई हास्य–व्यंग्यका माध्यमबाट प्रस्तुत गर्दै सुदूरपश्चिमको मौलिक पहिचानलाई प्रवद्र्धन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
धनगढीस्थित एस.टी.एस. सिनेमा हलमा हुने कार्यक्रममा सुदूरपश्चिमका चर्चित हास्य–व्यंग्य कलाकार तथा अभिनेताहरूको प्रस्तुति रहनेछ। व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा मौलिक लोक–सांस्कृतिक प्रस्तुतिहरू कार्यक्रमका प्रमुख आकर्षण रहने आयोजकले जनाएको छ।करिब १५ लाख रुपैयाँको लागतमा आयोजना हुन लागेको कार्यक्रममा लागुऔषध दुव्र्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदलगायत समसामयिक विषयलाई हास्य–व्यंग्यमार्फत प्रस्तुत गरिनेछ।
कार्यक्रमकी मुख्य संयोजक सरस्वती खड्का भट्टले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी तथा व्यवस्थापनको काम भइरहेको बताइन्।बेलौरी नगरपालिका मुख्य प्रवद्र्धकका रूपमा जोडिनुले निजी क्षेत्र, स्थानीय तह र कला–संस्कृतिको क्षेत्रबीचको सहकार्यलाई थप बल पुग्ने आयोजकको विश्वास छ।सुदूरपश्चिमको मौलिक कला, संस्कृति र सामाजिक सरोकारका विषयलाई मनोरञ्जनसँग जोडेर प्रस्तुत गर्न लागिएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ लाई दर्शकले उत्साहका साथ स्वागत गर्ने आयोजकले अपेक्षा गरेको छ