धनगढी २५ साउन/थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ‘हररी पूजा’को संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा तीनदिने ‘हररी महोत्सव २०८३’ हुने भएको छ ।
हररी महोत्सव २०८३ मूल आयोजक समितिले सोमबार गरेको पत्रकार सम्मेलनको आयोजना गरी धनगढी उपमहानगरपालिका–५, जाईस्थित थारू देउथान (ठनुवा) मा भदौ ५ गतेदेखि ७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सव गर्नुपुर्व भदौ ४ गते बिहान ११ बजे हरेरी पुजा समेत गरिने मुल आयोजक समितिका संयोजक कुलबिर चौधरीले जानकारी दिएका छन् ।
थारू समुदायले सामूहिक रूपमा मनाउँदै आएको हररी पूजा पछिल्लो १० वर्षदेखि महोत्सवका रूपमा आयोजना हुँदै आएको । यस वर्ष पनि तीन दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रमसहित महोत्सव मनाउन लागिएको हो । आयोजकका अनुसार हररी पूजा थारू समुदायको प्रमुख चार पूजामध्ये एक महत्वपूर्ण पूजा हो। हररी पूजापछि किसानले खेतबारीमा लगाएका बालीमा लाग्ने रोगव्याधि हट्ने र खेतीपाती राम्रो हुने जनविश्वास रहि आएको छ ।
हररी पूजा तथा महोत्सवले थारू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको आयोजकको भनाइ छ । आधुनिकता र सांस्कृतिक अतिक्रमणका कारण लोप हुने अवस्थामा रहेका मौलिक परम्पराको संरक्षणका लागि स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रचार–प्रसार आवश्यक रहेको आयोजक समितिका सदस्य बिनय चौधरीले जानकारी दिएका छन् ।
हररी पूजालाई स्थानीयस्तरमा मात्र सीमित नराखी व्यापक रूपमा प्रचार–प्रसार तथा संरक्षण गर्न महोत्सव आयोजना गरिएको जाँई गाँउका थारु अगुवा धनबहादुर चौधरीले बताए ।