धनगढी, २० साउन / धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आफ्ना चिकित्सकहरूलाई कार्यालय समयभित्र निजी स्वास्थ्य संस्था वा क्लिनिकमा सेवा दिन नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। अस्पताल प्रशासनले सेवाप्रवाहमा सुधार ल्याउने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको हो।
मंगलबार सार्वजनिक गरिएको सूचनाअनुसार केही चिकित्सकहरू अस्पतालको नियमित ड्युटी समयमै बाहिरी निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थामा कार्यरत रहेको भन्ने गुनासो प्राप्त भएपछि प्रशासनले कडाइ गर्ने निर्णय गरेको हो। अस्पतालले सबै चिकित्सकलाई तोकिएको कार्यसमयभर आफ्नै जिम्मेवारीमा उपस्थित रही सेवाग्राहीलाई प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले जारी गरेको सूचनामा कार्यालय समयको उल्लंघन गर्दै निजी संस्थामा संलग्न भएको पुष्टि भए सम्बन्धित चिकित्सकमाथि प्रचलित कानुन तथा लागू सेवा-शर्तअनुसार आवश्यक अनुशासनात्मक प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।