काठमाडौं, १९ साउन / प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित आफ्नै दलका सांसदहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सांसदहरूले सरकारका सुशासनसम्बन्धी प्रयासको सराहना गर्दै ती उपलब्धि संसद् र जनतासम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता जनाएका थिए।
छलफलका क्रममा सांसदहरूले आ-आफ्ना निर्वाचन क्षेत्रमा देखिएका विकास निर्माणका आवश्यकता र स्थानीय जनताले भोगिरहेका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले सुदूरपश्चिमको समग्र राजनीतिक अवस्था, विकासका सम्भावना र चुनौतीबारे पनि आफ्नो धारणा राखेका थिए।
भेटमा गेटा विश्वविद्यालय सञ्चालन, कैलाली-कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी-खुटिया-दिपायल फास्ट ट्र्याक निर्माण, विद्युतीकरण विस्तार, सडक दुर्घटना न्यूनीकरण, नदी तटबन्ध, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेती जलविद्युत् आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने विषय उठाइएको थियो।
त्यसैगरी भन्सार व्यवस्थापन, आरक्षपीडितका समस्या, हुलाकी सडकको निर्माण, किसानका लागि धान खरिद–बिक्रीको सहज व्यवस्था तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटान नियन्त्रणका विषयमा पनि सांसदहरूले प्रधानमन्त्रीसमक्ष आफ्ना सुझाव र माग राखेका थिए।
उक्त छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायतको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।