धनगढी,१८ साउन / धार्मिक, जातीय र सामाजिक सद्भावलाई थप मजबुत बनाउने उद्देश्यले कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबार धनगढीमा सद्भाव र्याली निकालिएको छ।
धनगढी चौराहाबाट सुरु भएको र्याली पार्कमोड (जेन्जी मार्ग) पुगेर समापन भएको थियो। र्यालीमा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझा, हिन्दू–मुस्लिम समुदायका अगुवा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, व्यापारी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
र्यालीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले धनगढीले दिएको सद्भाव र सहअस्तित्वको सन्देश देशभरका नागरिकका लागि अनुकरणीय रहेको बताए। धनगढीमा जातीय, भाषिक र धार्मिक विविधता भए पनि सबै समुदाय मिलेर बसेको उदाहरण प्रस्तुत भएको उल्लेख गर्दै उनले शान्ति कायम राख्न सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए।
“हामी सबैभन्दा पहिले नेपाली हौँ। सबैलाई शान्ति चाहिन्छ, किनकि शान्ति नै सभ्य समाजको आधार हो,” उनले भने।

प्रमुख जिल्ला अधिकारी हिराला रेग्मी
कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले शान्तिपूर्ण वातावरणबिनाको समाजमा व्यापार, व्यवसाय र विकास सम्भव नहुने बताए। हिंसात्मक सोचले कसैको हित नगर्ने भन्दै उनले समाजलाई एकताबद्ध राख्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए।
उनले कैलाली उद्योग वाणिज्य सङ्घले विगतदेखि नै सामाजिक एकता र सहकार्यका पक्षमा काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि समाजलाई एकताबद्ध बनाउने अभियानमा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।
र्यालीमा सहभागी हिन्दू र मुस्लिम समुदायका प्रतिनिधिहरूले धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक एकतालाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए। उनीहरूले “पहिला नेपाली” भन्ने भावनाले मात्रै समाजमा स्थायी शान्ति कायम हुन सक्ने धारणा राखे।
निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्तले आपसी सद्भाव र सहकार्य कायम रहे मात्र समग्र देशको विकास सम्भव हुने बताए। धनगढी सधैँ शान्ति, सद्भाव र सामाजिक एकताको सहर रहेको सन्देश दिन आफूहरू र्यालीमा सहभागी भएको उनले बताए।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी विभिन्न जाति, धर्म, भाषा र समुदायका नागरिकको साझा बसोबास रहेको बहुसांस्कृतिक सहर हो। आयोजकका अनुसार पछिल्ला दिनमा मधेस प्रदेशमा देखिएको धार्मिक तनावको प्रभाव अन्य क्षेत्रमा नपुगोस् र धनगढीबाट राष्ट्रिय एकता तथा शान्तिको सकारात्मक सन्देश प्रवाह होस् भन्ने उद्देश्यले सद्भाव र्याली आयोजना गरिएको हो।
यसैबीच, कैलाली जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले जिल्ला प्रशासन कार्यालयको पूर्वअनुमति बिना कुनै पनि सभा, सम्मेलन वा सार्वजनिक कार्यक्रम आयोजना गर्न नपाइने निर्णय गरेको छ।
