धनगढी, १६ साउन / धनगढीमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार साँझ ‘शान्तिपूर्ण सद्भाव र्याली’ निकालिएको छ ।
सुदूरपश्चिम सद्भाव जागरण समितिको आयोजनामा भएको र्याली धनगढी चौराहाबाट सुरु भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेर समापन गरिएको थियो। साँझ ६ बजे सुरु भएको र्यालीमा विभिन्न उमेर समूहका नागरिक, सामाजिक अभियन्ता तथा युवाहरूको सहभागिता रहेको थियो।
र्यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर ‘हामी सबै नेपाली, हाम्रो पहिचान एक’, ‘धर्म फरक हुन सक्छ, देश एउटै हो’, ‘विविधतामा एकता, नेपाल हाम्रो साझा घर हो’, ‘घृणा होइन, प्रेम र सम्मान’ लगायतका सन्देश प्रवाह गरिएको थियो । हिंसाभन्दा शान्ति, विभाजनभन्दा एकता र घृणाभन्दा भाइचारालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।
आयोजक समितिले जात, धर्म, भाषा, संस्कृति र राजनीतिक आस्थाभन्दा माथि उठेर नेपालीबीच आपसी विश्वास, सहिष्णुता र सामाजिक सद्भाव बलियो बनाउन र्याली आयोजना गरिएको जनाएको छ। नेपालको विविधताभित्र रहेको एकतालाई अझ सुदृढ बनाउँदै सामाजिक मेलमिलाप कायम राख्न सबै नागरिकको भूमिका महत्त्वपूर्ण रहने उनीहरूको भनाइ थियो।
र्यालीमा सहभागीहरूले “हामी सबैको साझा जात नेपाली, साझा धर्म नेपाल र साझा मातृभूमि नेपाल” भन्ने भावलाई आत्मसात गर्दै देशलाई विभाजन होइन, एकताबाट अघि बढाउनुपर्ने सन्देश दिएका थिए। साथै, समाजमा बढ्दै गएको वैमनस्य अन्त्य गरी पारस्परिक सम्मान, सहकार्य र भाइचारा कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा पनि जोड दिइएको थियो।
पछिल्लो समयमा मधेस प्रदेशमा हिन्दू र मुस्लिम समुदायको सम्प्रदायिक द्वन्दले अझै ठूलो रूप लिन नपाओस् र आपसी वैमनस्यता नहोस् एकताको र सद्भावनाको सन्देश दिनको लागि धनगढीमा उक्त र्याली निकालिएको हो ।