सुदूरपश्चिमेली नेपाली समाज, क्रोएशियाले सुदूरपश्चिमेलीहरूको महान् सांस्कृतिक पर्व गौरा पर्व २०२६ को अवसरमा विशेष सांगीतिक साँझ आयोजना गर्ने भएको छ। कार्यक्रममा नेपालका चर्चित गायक नवीन के. भट्टराईले पहिलो पटक क्रोएशियामा आफ्नो विशेष लाइभ प्रस्तुति दिनेछन्।
आयोजकका अनुसार कार्यक्रम आगामी १३ सेप्टेम्बर २०२६ (आइतबार) दिउँसो २:०० बजेदेखि जाग्रेबस्थित Boogaloo Club (Ul. grada Vukovara 68, 10000 Zagreb, Croatia) मा आयोजना हुनेछ।
कार्यक्रममार्फत विदेशमा रहेका नेपाली समुदायलाई गौरा पर्वको सांस्कृतिक महत्वसँग जोड्दै नेपाली कला, संस्कृति र सांगीतिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
सुदूरपश्चिमेली नेपाली समाज, क्रोएशियाले क्रोएशियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई परिवार तथा साथीभाइसँग कार्यक्रममा सहभागी भई गौरा पर्वको उल्लासलाई सामूहिक रूपमा मनाउन आग्रह गरेको छ।
आयोजकका अनुसार कार्यक्रममा गायक नवीन के. भट्टराईका लोकप्रिय गीतहरूसहित विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै, गौरा पर्वको सांस्कृतिक वातावरणबीच नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।