धनगढी, १३ साउन / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धनगढी नगर इकाइले गुरु पूर्णिमाको अवसरमा धनगढीका विभिन्न विद्यालय तथा क्याम्पसमा पुगेर गुरुहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ।
विद्यार्थी परिषद्ले हरेक वर्ष विशेष कार्यक्रमका रूपमा मनाउँदै आएको गुरु पूर्णिमा यस वर्ष पनि निरन्तरता दिँदै धनगढीका विभिन्न शैक्षिक संस्थाहरूमा पुगेर गुरुहरूलाई मायाको चिनो प्रदान गरी सम्मान व्यक्त गरेको हो।
परिषद्का धनगढी नगर मिडिया कार्यप्रमुख नारद भट्टका अनुसार गुरु-शिष्य परम्पराप्रति सम्मान अभिव्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। धनगढीका विभिन्न विद्यालय र क्याम्पसमा पुगेर गुरुहरूलाई सम्मान गरिएको उनले जानकारी दिए।
कार्यक्रममा विद्यार्थी परिषद्का प्रमुख दायित्वधारी कार्यकर्तासहित विद्यालय तथा क्याम्पसमा जिम्मेवारी सम्हालिरहेका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। परिषद्ले यस्ता कार्यक्रमले गुरुप्रतिको सम्मान, संस्कार र सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।