धनगढी, १२ साउन / नेपाली मौलिक गाईजात्रा परम्पराको संरक्षण, हास्य–व्यंग्यमार्फत सामाजिक सचेतना अभिवृद्धि तथा सुदूरपश्चिमको कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना गरिने भएको छ।
बैजनाथ सञ्चार प्रा.लि.ले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी आगामी भदौ १७ गते धनगढीस्थित एस.टी.एस. सिनेमा हलमा कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा आर्थिक संयोजक सुवेष पाठकले गत वर्ष सम्पन्न पहिलो संस्करणले दर्शकबाट उत्साहजनक साथ र सकारात्मक प्रतिक्रिया प्राप्त गरेकाले यस वर्ष कार्यक्रमलाई अझ व्यवस्थित, भव्य र सन्देशमूलक बनाइने बताए। उनले करिब १५ लाखको लगानीमा गाईजात्रा गरिन लागेको जानकारी दिए।
कार्यक्रममा नेपालका वरिष्ठ हास्य–व्यंग्य कलाकार तथा अभिनेता मनोज गजुरेलको विशेष प्रस्तुति रहनेछ। साथै सुदूरपश्चिमका वरिष्ठ तथा चर्चित हास्य–व्यंग्य कलाकारहरूको प्रस्तुति, हास्य–व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा, मौलिक लोक तथा सांस्कृतिक कार्यक्रमलगायत विविध सांस्कृतिक प्रस्तुति समावेश गरिने कार्यक्रम संयोजक सरस्वती कुमारी खड्का भट्टले जानकारी दिइन्।
कार्यक्रममार्फत लागुऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु हिंसा, महिला हिंसा, बाल अधिकार, युवा पलायन, सामाजिक विभेदलगायत समसामयिक सामाजिक विकृतिविरुद्ध व्यंग्यात्मक शैलीमा सकारात्मक सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सरस्वती कुमारी खड्का भट्टको सन्देश उद्धृत गर्दै बैजनाथ सञ्चार प्रा.लि.ले सुदूरपश्चिमका कलाकारलाई सम्मानित मञ्च उपलब्ध गराउनुका साथै प्रदेशको मौलिक भाषा, कला र संस्कृतिलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्य रहेको जनाएको छ। नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृतिप्रति आकर्षित गर्दै गाईजात्रा परम्पराको संरक्षण र पुस्तान्तरणमा कार्यक्रमले योगदान पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।
आयोजकले सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामार्फत समाजमा सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’लाई आम नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउन सबैको रचनात्मक सहयोगको अपेक्षा गरेको छ।
