धनगढी , १२ साउन / लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले लामो समय विदेश भ्रमणमा रहँदा पनि कार्यवाहकको जिम्मेवारी कसैलाई नदिएको पाइएको छ ।
स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश, २०७४ अनुसार गाउँपालिका अध्यक्ष वा नगर प्रमुखले तीन दिनभन्दा बढी समय आफ्नो स्थानीय तहभन्दा बाहिर बस्नुपरेमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार सुम्पिनुपर्ने व्यवस्था छ। तर उपमेयर जुना चौधरीका अनुसार मेयर शाही दुई–तीन हप्तासम्म विदेश भ्रमणमा रहँदा पनि कसैलाई कार्यवाहकको जिम्मेवारी दिइएन।
उपमेयर जुना चौधरीले कर्मचारीमाथि कसलाई के कारबाही गरियो भन्नेबारे आफूलाई जानकारी नभएको बताउँदै मेयरले विदेश जानुअघि वा विदेशमा रहँदा कार्यभार नदिएको बताउनु भयो।
यही अवधिमा नगरपालिकाले तीन जना कर्मचारीमाथि कारबाही अघि बढाएको छ। जयन्द्रप्रसाद जोशीलाई पदबाट हटाउने तथा करार नवीकरण नगर्ने जानकारी गराइएको छ। महेश कुमार बिष्टलाई कार्यालयमा हाजिर नगर्न निर्देशन दिइएको छ भने जिन्सी प्रमुख वीरेन्द्र चौधरीसँग लिखित स्पष्टीकरण मागिएको छ।
कारबाहीमा परेका कर्मचारीहरूले भने आफूहरूमाथि प्रतिशोध साँधिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा आइसकेपछि नगर अस्पतालको औचित्य स्वतः समाप्त भएको थियो। त्यसपछि नगर अस्पतालमा रहेका जिन्सी सामग्री प्रादेशिक अस्पताललाई बुझाउने प्रक्रिया पूरा गरिएकै कारण आफूहरूमाथि कारबाही गरिएको दाबी उनीहरूको छ।
यद्यपि यस घटनाले दुईवटा महत्वपूर्ण प्रश्नलाई पुनः सतहमा ल्याएको छ। पहिलो, प्रादेशिक अस्पताल सञ्चालनमा आइसकेपछि नगर अस्पतालको कानुनी र प्रशासनिक अस्तित्व के रहन्छ ? दोस्रो, स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश, २०७४ ले व्यवस्था गरेको तीन दिनभन्दा बढी बाहिर रहँदा कार्यवाहक दिने प्रावधान लम्कीचुहा नगरपालिकामा किन कार्यान्वयन भएन ?
मेयर शाही विदेशमै रहँदा कर्मचारीमाथि कारबाहीको निर्णय भएको विषय र कार्यवाहक नदिइएको अवस्थाले स्थानीय सरकार सञ्चालन, निर्णय प्रक्रियाको वैधानिकता तथा सुशासनका विषय समेत ओझेलमा परेको देखिन्छ।
यता लम्कीचुहस प्रादेशिक अस्पतालले भने औपचारिक रूपमा सेवा सुचारु गरेको छ।
