बेलौरी ७ साउन/कञ्चनपुरको बेलौरी नगरपालिकाले पदाधिकारीको जीवन बिमा गराएर करिब पौने पाँच लाख रुपियाँ अनियमितता गरेको पाइएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ४८ जना पदाधिकारीको म्यादी जीवन बिमा गर्दै चार लाख ७३ हजार ३३६ रुपियाँ अनियमितता गरेको हो । सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ अनुसूची १ (ख) बमोजिम पालिकाका सदस्यले पाउने सेवा सुविधा उल्लेख गरिएको छ ।
ऐनमा उल्लेख भए अनुसार नगर सभाका सदस्यले सरकारी कामको सिलसिलामा अधिकतम १० लाखसम्मको यात्रा दुर्घटना बिमा गर्न सकिने व्यवस्था गरिए पनि म्यादी जीवन बिमासम्बन्धी भने उल्लेख छैन । नगरपालिकाले भने नगर सभाका ४८ जना पदाधिकारीको म्यादी जीवन बिमा गरेर चार लाख ७४ हजार ३३६ रुपियाँ अनियमितता गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
त्यसै गरी बेलौरी नगरपालिकाले आव २०८०/८१ मा पनि ४९ जना पदाधिकारीको नाममा म्यादी जीवन बिमा गरेको महालेखाको प्रतिवदेनमा उल्लेख छ । नगरपालिकाले सो आवमा म्यादी जीवन बिमा गरेबापत प्रभु महालक्ष्मी जीवन बिमा कम्पनीलाई दुई लाख ६१ हजार ९७० रुपियाँ भुक्तानी गरेको थियो ।
आन्तरिक स्रोत न्यून रहेको अवस्थामा नगरपालिकाले पदाधिकारीको सेवा सुविधामै अनावश्यक खर्च गर्न थालेपछि विकासनिर्माणका काम भने प्रभावित बनेको यहाँका स्थानीयको गुनासो छ ।
