धनगढी, ३ साउन / सुदूरपश्चिमका बाल प्रतिभाको गायन क्षमता उजागर गर्ने उद्देश्यले आयोजित डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ को ग्रान्ड फिनाले धनगढीस्थित सुभश्री पार्टी प्यालेसमा सम्पन्न भएको छ।
धीर म्युजिक एन्ड प्रोडक्सन हाउसको आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट छनोट भएका उत्कृष्ट १० प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो। निर्णायकहरूको मूल्याङ्कनका आधारमा न्यु भिजन इङ्ग्लिस बोर्डिङ स्कुलका कोरस तामाङ विजेता बन्दै नगद एक लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
त्यसैगरी एरिस्टो स्कुलका स्वर्णिम बुढाथोकी प्रथम उपविजेता हुँदै ५० हजार रुपैयाँ तथा सोही विद्यालयकी एन्जेल चौधरी द्वितीय उपविजेता बन्दै २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्रबाट सम्मानित भइन्।
कार्यक्रममा पहिलो संस्करणका विजेता शुलोक खड्का, चन्द्रकुमारी जोशी र दीक्षा मल्लको विशेष प्रस्तुति तथा बाल्मीकि इन्टरनेसनल स्कुलको द इकोज ब्याण्डको लाइभ प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक धीर म्युजिक एन्ड प्रोडक्सन हाउसका प्रमुख कार्यकारी अधिकृत धीर विक्रम सिंहले प्रतियोगिताले सुदूरपश्चिमका बाल प्रतिभालाई राष्ट्रिय स्तरमा पुग्ने अवसर सिर्जना गरिरहेको बताए। राज मिडियाज हाउसका प्रमुख कार्यकारी अधिकृत आदित्य विक्रम क्षेत्रीले प्रतियोगितालाई आगामी दिनमा सुदूरपश्चिमका सबै जिल्लामा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए।
ग्रान्ड फिनालेमा अभिभावक, कलाकार, विभिन्न विद्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा संगीतप्रेमी दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो।
