धनगढी, १४ असार / जेठ २१ गतेदेखि सञ्चालन हुँदै आएको सन्ध्याकालीन धनगढी उत्सव आइतबार समापन गरिएको छ । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाको प्रमुख आतिथ्यतामा आयोजित समापन समारोहसँगै यस वर्षको उत्सव औपचारिक रूपमा सम्पन्न गरिएको हो।
उत्सवका आयोजक प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालले नवप्रतिभाको खोज, पहिचान र प्रोत्साहन गर्ने उद्देश्यका साथ उत्सव आयोजना गरिएको बताउँदै आगामी वर्ष पनि अझ व्यवस्थित रूपमा निरन्तरता दिइने जानकारी दिए।
समापन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख रानाले सन्ध्याकालीन धनगढी उत्सवले स्थानीय नवप्रतिभालाई आफ्नो कला र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरिन्। यस्ता सिर्जनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गर्दै उपमहानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताइन्।
समारोहका अवसरमा उत्सव सफल बनाउन योगदान पुर्याउने कलाकार, पत्रकार तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
उत्सवका संयोजक तथा उद्घोषक गुणाकर पनेरुले यस वर्षको आयोजना आफूहरूका लागि महत्वपूर्ण सिकाइ बनेको उल्लेख गर्दै अर्को वर्ष थप विशेष तयारी र नयाँपनका साथ उत्सव आयोजना गरिने बताए।
त्यस्तै, उत्सवका व्यवस्थापक सुरेश शाहले उत्सव सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सहयोगी, कलाकार, पत्रकार र दर्शकप्रति धन्यवाद ज्ञापन गरे।
