धनगढी, ११ असार/कैलालीको गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ । एक जना छर्रा लागेर घाईते भएका छन् ।
कैलालीको मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो हुद्दा बिष्टको मृत्यु भएको हो । सोही घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको तिमिल्सिनाले बताए ।
जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए । विस्फोटबाट उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो ।
