धनगढी,९ असार/बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवद्र्धन तथा मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले कैलालीमा ‘मेण्टल हेल्थ म्याटर्स’ परियोजना सञ्चालनमा आएको छ । फोरुट नर्वे र काभ्ली ट्रस्टको सहयोगमा सञ्चालित परियोजना सन् २०२६ जनवरीदेखि २०२८ मेसम्म सञ्चालन हुनेछ ।
परियोजना अन्तर्गत कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकालाई पहिलो चरणको कार्यक्षेत्र बनाइएको छ । परियोजनाको कुल बजेट २ करोड ८ लाख ७६ हजार ९११ रुपैयाँ रहेको छ ।
परियोजनाले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य तथा समग्र कल्याण अभिवृद्धि गर्दै उनीहरूलाई सुरक्षित, समावेशी र सहयोगपूर्ण वातावरणमा हुर्कन सहयोग पु¥याउने लक्ष्य राखेको छ । साथै आवश्यकता अनुसार गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्य पनि परियोजनाको रहेको सिविन नेपालका जिल्ला सयोजक हरिलाल चौधरीले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत स्थानीय सरोकारवालाको म्यापिङ, विद्यालय तथा स्थानीय तहसँग समन्वय बैठक, अभिभावक र शिक्षकका लागि बाल तथा किशोर मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण, सकारात्मक अभिभावकत्व तालिम, स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम, विद्यालय नर्सहरूलाई सामाजिक–संवेगात्मक सिकाइ तालिम तथा मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिने जनाइएको छ ।
यस्तै जनचेतनामूलक भिडियो तथा सन्देश उत्पादन–प्रसारण, बाल क्लब र सामुदायिक संस्थामार्फत सचेतना कार्यक्रम, मानसिक स्वास्थ्य तथा मानवअधिकारसम्बन्धी तालिम, आपत्कालीन मानसिक स्वास्थ्य सेवा भ्रमण, स्थानीय भाषामा सूचना सामग्री प्रकाशन तथा प्रभावकारी सञ्चार सीपसम्बन्धी तालिम पनि सञ्चालन हुनेछन् ।
परियोजनाले समुदायमा आधारित मानसिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने, मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान र क्षमता अभिवृद्धि गर्ने तथा बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढ्दो चुनौती
परियोजनाको अभिमुखीकरण कार्यक्रममा प्रस्तुत तथ्यांक तथा अध्ययनले बालबालिका र किशोरकिशोरीमा विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्या देखिन थालेको औँल्याएको छ ।
विकाससम्बन्धी विकार, अटिजम, ध्यान केन्द्रित गर्न नसक्ने समस्या, आचरणसम्बन्धी विकार, चिन्ता, अवसाद, रूपान्तरित विकृति, मिर्गी, लागूपदार्थ दुव्र्यसन, गम्भीर मानसिक रोग तथा आत्महत्याको जोखिम प्रमुख चुनौतीका रूपमा रहेका छन् ।
विशेषज्ञहरूका अनुसार मानसिक स्वास्थ्य समस्या भएका बालबालिकामा विद्यालय जान अनिच्छा हुने, सामाजिक सम्बन्ध कमजोर हुने, पढाइमा असर पर्ने, अत्यधिक डर, तनाव, निराशा, एक्लोपन, आक्रामक व्यवहार तथा आत्महानीका सोचसमेत देखिन सक्छन् ।
कार्यक्रममा मानसिक स्वास्थ्य समस्यालाई रोगको रूपमा स्वीकार गर्दै समयमै पहिचान, परामर्श र उपचारमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको थियो। अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी, बालरोग विशेषज्ञ तथा मानसिक स्वास्थ्य विशेषज्ञबीच समन्वयात्मक उपचार र सहयोग प्रणाली विकास गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
विशेषज्ञहरूले मानसिक स्वास्थ्य समस्याप्रति समाजमा अझै पनि रहेको भ्रम, अन्धविश्वास र विभेद अन्त्य गर्दै बालबालिका तथा किशोरकिशोरीलाई आवश्यक सहयोग र सहानुभूतिपूर्ण व्यवहार प्रदान गर्न आग्रह गरेका छन् । मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यसरह महत्त्वपूर्ण विषयका रूपमा ग्रहण गरी समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने उनीहरूको भनाइ छ ।
