धनगढी, ३ असार / सुदूरपश्चिममा खेलकुद पूर्वाधार निर्माणका नाममा करोडौं बजेट खर्च भए पनि खेलाडीले अझै व्यवस्थित मैदान पाउन सकेका छैनन् । आठ वर्षको अवधिमा संघ र प्रदेश सरकारले खेल पूर्वाधारमा करिब २ अर्ब रुपैयाँभन्दा बढी लगानी गरे पनि अधिकांश संरचना प्रयोगविहीन बनेका छन् ।
बझाङदेखि दार्चुलासम्मका जिल्लामा निर्माण गरिएका कैयौं खेल मैदान गुणस्तरहीन, अधुरा वा गलत स्थानमा बनाइएका कारण खेल सञ्चालन गर्न नसकिने अवस्थामा छन् । कतिपय ठाउँमा खोलाले मैदान बगाएको छ भने कतिपय स्थानमा खेत भाडामा लिएर प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था छ ।
बझाङको बित्थडचिरमा खेल मैदान निर्माणमा अनियमितता भएको भन्दै विशेष अदालतले कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीलाई दोषी ठहर गरेको छ । एउटै कामको दोहोरो भुक्तानी र कामभन्दा बढी रकम खर्च भएको अनुसन्धानबाट खुलेको थियो ।
प्रदेशका नौ वटै जिल्लामा खेल मैदान र पूर्वाधारका सयौं योजना बने पनि ठूला प्रतियोगिता सञ्चालन गर्न सकिने पर्याप्त मैदान छैनन् । बैतडीमा करोडौं खर्चपछि पनि रनिङ सिल्ड सडकमा सञ्चालन गर्नुपरेको छ भने दार्चुलामा खेत र सडक नै खेल मैदान बनेका छन् ।
खेलकुद क्षेत्रका जानकारहरू आवश्यकता र मापदण्डभन्दा पहुँचका आधारमा योजना छनोट हुँदा समस्या आएको बताउँछन् । बजेट सक्ने उद्देश्यले बनाइएका संरचनाले खेलाडीको भविष्यभन्दा अनियमिततालाई बल दिएको उनीहरूको भनाइ छ ।
