धनगढी, २३ जेठ / नेकपा एमालेबाट २०७९ को चुनावमा निर्वाचित भएका सुर्नया गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवर वर्षैपिच्छे आर्थिक अनियमितता बढाउँदै गएका छन्। गतवर्ष लाखौंको सवारी अनियमितता गरेका कुँवरले यसपटक गाउँपालिकाबाट लाखौंको अतिथि सत्कार रकम भुक्तानी लिएर अनियमितता गरेको महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ।
अध्यक्ष कुँवरले फरक-फरक मितिमा गरेर करिब ७ लाख ५८ हजार रकम भुक्तानी लिई अनियमितता गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची १ बमोजिम गाउँपालिकाका अध्यक्षलाई अतिथि सत्कार स्वरूप मासिक १० हजार , उपा-ध्यक्षलाई ९ हजार र वडा अध्यक्षलाई ७ हजार भुक्तानी गरिने व्यवस्था छ ।
तर सूर्नया गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले थप अतिथि सत्कार भनी विविध खर्चबापत झण्डै ११ लाख बिलको आधारमा भुक्तानी गरेको पाइएको छ। उपाध्यक्ष मञ्जु बोहराले पनि अलग्गै अतिथि सत्कारको लागि भन्दै झन्डै तीन लाख भुक्तानी लिएकी छन्।
यसरी पटकपटक सुर्नया बासीले खबरदारी गर्दागर्दै पनि अनियमितता गर्नु आम नागरिकको खुलेआम अपमान गर्नु सरह नै भएको स्थानीयहरु बताउँछन्।
यस विषयको लागि अध्यक्ष कुँवरलाई सम्पर्क गर्दा ठाडो जवाफमा कार्यालयमा आउनु भन्दै फोन काटे।

