धनगढी, १८ जेठ / सुदूरपश्चिम प्रदेशको ११७ सदस्यीय खेलाडीको टोली १६औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता जनाउन आज काठमाडौं प्रस्थान गरेको छ। टोलीलाई सामाजिक विकास मन्त्री मेघराज खड्काले औपचारिक रूपमा बिदाइ गर्दै शुभकामना व्यक्त गरेका छन्।
बिदाइ कार्यक्रममा मन्त्री खड्काले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशको गौरव बढाउन प्रेरित गरेका थिए।
डडेल्धुरामा सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू यस प्रतियोगिताका लागि छनोट भएका हुन्। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोक बहादुर खड्का (रवि) का अनुसार टोलीले प्रतियोगितामा सञ्चालन हुने सबै ६ वटा खेल विधामा सहभागिता जनाउनेछ।
उनले सुदूरपश्चिमका खेलाडीहरू उच्च मनोबलका साथ राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्न तयार रहेको बताए।
१६औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको सहभागितासँगै प्रदेशको खेलकुद स्तर र सम्भावना राष्ट्रिय स्तरमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।
डडेल्धुरामा सम्मपन्न प्रदेशस्तरीय छनौट प्रतियोगितामा कैलाली जिल्ला पहिलो प्रथम भएको थियो।
