धनगढी, १६ जेठ/डोटीको बोगटान फुड्सिल गाउँपालिका–स्थित चवराचौतारामा शुक्रबारदेखि एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालनमा आएको छ। निसर्ग हस्पिटल, धनगढीको प्राविधिक सहयोगमा सुरु भएको शिविर दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ।
निसर्ग हस्पिटलका स्वास्थ्यकर्मी तथा फोकल पर्सन केशवराज जोशीका अनुसार शिविर शनिबार र आइतबारसम्म सञ्चालन हुनेछ। शिविरको आयोजना स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले गरेको हो भने बोगटान फुड्सिल गाउँपालिका र चवराचौतारा समाज धनगढीले सहयोग तथा समन्वय गरिरहेका छन्।
शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट विभिन्न रोगको परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। साथै आवश्यक औषधि निःशुल्क वितरण गरिने व्यवस्था मिलाइएको छ। शिविरबाट करिब एक हजार स्थानीय नागरिक लाभान्वित हुने अपेक्षा गरिएको जोशीले बताए।
शिविरमा फिजिसियन डा. रेहन प्रधान, मेडिकल अधिकृत डा. युवराज भट्ट, बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. बमबहादुर कुँवर, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सन्तोष डीसी, मानसिक तथा नसारोग विशेषज्ञ डा. साजन खड्का, मेडिकल अधिकृत डा. आदित्य सिंह, जनरल फिजिसियन डा. विष्णु खड्का तथा मनोपरामर्शदाता सुनिल चटौतले सेवा प्रदान गरिरहेका छन्।