काठमाडौं, १६ जेठ / सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुदूरपश्चिम प्रदेशका पर्यटन, स्वास्थ्य, शिक्षा, खेलकुद, सञ्चार तथा पूर्वाधार विकासका विभिन्न महत्वाकांक्षी कार्यक्रम अघि बढाउने घोषणा गरेको छ।
बजेटमा सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू रामारोशन, खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटेर विशिष्ट पर्यटकीय चतुर्दिक विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। यस्तै खप्तड, रामारोशन, बडीमालिका, बुढीनन्दा, रारा, स्वर्गद्वारी र मुक्तिनाथलाई जोड्ने उच्च पहाडी पर्यटन पदमार्ग ‘डाँफे रुट’ विकास गरिने भएको छ।
सरकारले खप्तड–बडीमालिका–शुक्लाफाँटा पर्यटकीय कोरिडोरको प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखेको छ। यसले सुदूरपश्चिमको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
कृषि क्षेत्रतर्फ रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको लम्की खण्ड विस्तार गरिने बजेटमा उल्लेख छ। यसबाट कैलालीका कृषक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक वर्ष २०८३/८४ देखि एमबीबीएससहित चिकित्सा शिक्षाका चार वटा विधामा कक्षा सञ्चालन गरिने घोषणा गरिएको छ। साथै कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार गरी भिडियो परामर्शमार्फत विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइने जनाइएको छ।
सीमावर्ती पूर्वाधारतर्फ कञ्चनपुरको दोधारा–चाँदनीस्थित निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) दुई वर्षभित्र सम्पन्न गरिने लक्ष्य लिइएको छ।
सञ्चार सेवाको पहुँच विस्तारका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा तथा नेटवर्क विस्तार गरिने भएको छ।
खेलकुद पूर्वाधारअन्तर्गत धनगढीको फाप्ला मैदानमा कम्तीमा दुई हजार दर्शक क्षमता भएको इन्डोर मल्टिपर्पोज स्टेडियम आगामी तीन वर्षभित्र निर्माण गरिने घोषणा गरिएको छ।
सडक तथा यातायात पूर्वाधारतर्फ महाकाली कोरिडोरको दार्चुला–टिंकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिइएको छ। साथै सेती कोरिडोर र खुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइने बजेटमा उल्लेख गरिएको छ।
सरकारले प्रस्तुत गरेको बजेटमा सुदूरपश्चिमका पर्यटन, स्वास्थ्य, शिक्षा, सञ्चार, खेलकुद तथा रणनीतिक सडक पूर्वाधारका बहुआयामिक योजनालाई प्राथमिकता दिएकाले प्रदेशको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
