काठमाडौं, १५ जेठ / काभा महिला भलिबल च्याम्पियनसिपमा भारत तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा भारतले नेपाललाई ३-१ सेटमा हरायो ।
यो हारपछि ८ टोली सहभागी च्याम्पियनसिपमा नेपाल चाैथो भएको छ । भारतले सुरुवाती दुई सेट २५-२२ र २५-२३ ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो ।
तर तेस्रो सेटमा नेपालले पुनरागमन गर्यो । नेपालले सुरु देखि नै अग्रता बनाउँदै तेस्रो सेट २५-१५ ले आफ्नो पक्षमा पार्यो । तर चाैथो सेट भारतले २५-२२ ले जित्दै खेल जितेको हो ।
यस प्रतियोगितामा नेपाल दोस्रो पटक भारतसँग पराजित भएको हो । समूहको पहिलो खेलमै नेपाल भारतसँग ३-२ ले पराजित भएको थियो ।
समूह चरणको हारको बदला लिने नेपालको लक्ष्य पूरा हुन सकेन ।
