धनगढी, २५ बैशाख/भारत–नेपाल खुला सीमाले केवल दुई देशलाई मात्र जोडेको छैन, यसले संस्कृतिदेखि सम्बन्धसम्मको आत्मीयता पनि गाँसेको छ। यही आत्मीय सम्बन्धको अर्को उदाहरण भारतको पलिया कलाँ खीरीस्थित सशस्त्र सीमा बल (एसएसबी) को १९औँ स्थापना दिवस कार्यक्रममा देखियो, जहाँ नेपाली टोलीले ढाका टोपी र ढाका खाँदामार्फत नेपाली पहिचान र सम्मान प्रस्तुत गर्यो।
भारत–नेपाल सीमा सुरक्षामा खटिएको ३९औँ वाहिनी एसएसबी गद्दानियाँले स्थापना दिवसलाई भव्य रूपमा मनाउँदा कार्यक्रम केवल औपचारिक समारोहमा सीमित रहेन, यसले दुई देशबीचको सांस्कृतिक निकटता र पारस्परिक सम्मानलाई समेत उजागर गर्यो। वाहिनी मुख्यालयमा आयोजित कार्यक्रममा भारतका विभिन्न राज्यका सांस्कृतिक झाँकी, लोकनृत्य तथा विविध प्रस्तुति समावेश थिए। रंगीन पोसाक, लोकभाका र सांस्कृतिक विविधताले कार्यक्रमस्थललाई उत्सवमय बनाएको थियो।
यही समारोहबीच नेपाली टोलीको उपस्थितिले विशेष अर्थ थप्यो। नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा पुगेको टोलीले एसएसबीका कमाण्डेन्ट रबीन्द्र कुमार राजेश्वरीलाई नेपाली मौलिक पहिचान झल्किने ढाका टोपी र ढाकाको खाँदा लगाएर सम्मान गर्यो। नेपाली संस्कृति र सद्भावको प्रतीक मानिने ढाका टोपीले कार्यक्रममा छुट्टै आकर्षण थपेको थियो।
अध्यक्ष देउवाले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सीमा क्षेत्रमा शान्ति, सुरक्षा र समन्वय कायम गर्न एसएसबीले पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताए। उनका अनुसार सीमा सुरक्षासँगै नेपाल–भारत सम्बन्धलाई मैत्रीपूर्ण बनाउन यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने गरेका छन्।
कार्यक्रममा उद्योगपति शुभ ठाकुर, व्यवसायी दिल्ली भट्ट, एसपी कलेज होटल म्यानेजमेन्टका प्रमुख प्रिन्सिपल रविन्द्र परियार तथा सनराइज टेलिभिजनका समाचार सम्पादक सुदीप थापा लगायतको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले दुई देशबीचको सामाजिक र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउने धारणा व्यक्त गरेका थिए।
त्यसैगरी पलिया क्षेत्रका समाजसेवी तथा भाजपा नेता रवि गुप्ताले पनि एसएसबीका कमाण्डेन्टलाई सम्मान गर्दै सीमा सुरक्षामा वाहिनीले खेलेको भूमिकाको प्रशंसा गरे। उनले कठिन परिस्थितिमा समेत एसएसबीका जवानहरूले सीमा सुरक्षाको जिम्मेवारी निभाइरहेको उल्लेख गर्दै त्यसलाई गौरवको विषय भएको बताए।
सांस्कृतिक कार्यक्रम भने स्थापना दिवसको मुख्य आकर्षण बनेको थियो। विभिन्न राज्यका लोकनृत्य, परम्परागत संगीत र सांस्कृतिक प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रममा उपस्थित नेपाली तथा भारतीय दर्शकहरूले ताली र उत्साहका साथ कलाकारहरूलाई साथ दिएका थिए।
कमाण्डेन्ट रबीन्द्र कुमार राजेश्वरीले सुरक्षा निकाय र सञ्चारमाध्यमबीचको सहकार्य राष्ट्रहितका लागि आवश्यक रहेको उल्लेख गरे। उनले सीमा सुरक्षा र नागरिक कल्याणप्रति एसएसबी सदैव प्रतिबद्ध रहेको बताउँदै स्थापना दिवसले जवानहरूमा नयाँ ऊर्जा थपेको बताए। पलियामा सम्पन्न यो कार्यक्रमले सीमा केवल सुरक्षा र निगरानीको विषय मात्र नभई संस्कृति, सद्भाव र सम्बन्धको पुल पनि हो भन्ने सन्देश दिएको छ। नेपाली ढाका टोपी र खाँदाले त्यस दिन केवल सम्मानको प्रतीक मात्र नभई दुई देशबीचको आत्मीय सम्बन्धको प्रतिनिधित्व गरिरहेको देखिन्थ्यो।
