धनगढी, ११ बैशाख/कैलालीको सीमावर्ती क्षेत्रमा दिनदहाडै भन्सार छलेर सामान बेचबिखन गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
कैलारी गाउँपालिका–५, बिषनपुरबाट भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकल र १६ थान खटियासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भारतको पिलिभित जिल्ला गिराम उदयपुर फुल्ड पञ्चालयका २८ वर्षका शाहदिन शाह, पिलिभित जिल्ला मधु टाढा बस्ने ३२ वर्षका राशिद शाह भारतबाट अबैध रुपमा भन्सार छली गरी ल्याउदै पक्राउ परेका हुन् ।
उनीहरूबाट दुई लाख असि हजार बराबरको फलामको खटिया डोरीले बुनेको- १६ पिस र मो.सा.Up 26 AE5640, up 26 AY 5730 नम्बरको दुईवटा मोटरसाइकल बरामद गरिएको छ ।
पक्राउ परेका व्यक्ति, सामग्री र मोटरसाइकल भन्सार कार्यालय बुझाइएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जना, बरामद खटिया र मोटरसाइकल आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइएको प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो।
पछिल्ला केही दिनयता भारतीय सीमासँग जोडिएका हसुलिया, फुलवारीलगायत क्षेत्रमा तस्करी गतिविधि बढ्दै गएको स्थानीयको गुनासो छ। खुला रूपमा सामान ओसारपसार र बिक्री वितरण भइरहेकाले सीमा क्षेत्रमा तस्करको चलखेल मौलाएको देखिएको छ।
