धनगढी, ६ वैशाख/सुदूरपश्चिम प्रदेशमा लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि सरोकारवाला निकायहरूले संयुक्त प्रतिबद्धता जनाएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आयोजनामा तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले लागूऔषध विरुद्ध समन्वयात्मक रूपमा अघि बढ्ने निर्णय गरेका हुन् ।
कार्यक्रममा सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, व्यवसायी र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले लागूऔषध कारोबार, ओसारपसार र दुरुपयोग नियन्त्रणका लागि सूचना आदानप्रदान, निगरानी वृद्धि तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी होटल, लज लगायतका व्यवसायिक क्षेत्रमा लागूऔषध सम्बन्धी गतिविधि रोक्ने, सार्वजनिक सवारी साधनमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने र शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने सहमति गरिएको छ ।
कार्यक्रममा “से नो ड्रग्स” अभियानलाई प्रभावकारी बनाउँदै विशेष गरी बालबालिका तथा युवालाई लागूऔषधको कुलतबाट जोगाउने लक्ष्यसमेत राखिएको छ ।
कार्यक्रमको अन्त्यमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले हस्ताक्षर गर्दै लागूऔषधमुक्त सुदूरपश्चिम निर्माणमा ऐक्यबद्धता जनाएका छन् ।
संयुक्त प्रतिबद्धता

