धनगढी, २६ चैत / राष्ट्रिय स्तरमा आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको दोस्रो आर्थिक गणनाको तयारी अन्तर्गत कैलालीमा गणक तथा सुपरिवेक्षकलाई लक्षित तालिम सुरु भएको छ।
जिल्ला आर्थिक गणना कार्यालय कैलालीको आयोजनामा भएको तालिममा १०६ जना गणक र १४ जना सुपरिवेक्षक गरी कुल १२० जनाको सहभागिता रहेको जिल्ला आर्थिक गणना अधिकारी गोविन्द प्रसाद न्यौपानेले जानकारी दिए। उनका अनुसार वैशाख २ गतेदेखि असार ७ गतेसम्म जिल्लाभर आर्थिक तथ्याङ्क सङ्कलन गरिनेछ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नृप सुनारले यथार्थपरक तथ्याङ्कले विकास योजनालाई प्रभावकारी बनाउने भएकाले गणकहरूले निष्पक्ष र तथ्यमा आधारित विवरण सङ्कलन गर्नुपर्नेमा जोड दिए। उनले तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्दै राष्ट्रको वास्तविक आर्थिक चित्र प्रस्तुत गर्न आग्रह गरे।
सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले पर्याप्त जानकारीसहित तथ्याङ्क सङ्कलन गर्दा मात्र कैलाली जिल्लाको वास्तविक अवस्था उजागर हुने बताए। उनले गणनालाई सफल बनाउन सबै पक्षको समन्वय आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रम उद्घाटन समारोहमा कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष केशव राज जोशी, कैलाली बहुमुखी क्याम्पस प्रमुख डा. लोक बहादुर बिष्ट तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्दको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमका संयोजक तथा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख हिरालाल रेग्मीले तथ्याङ्क सङ्कलनका क्रममा आउने चुनौतीलाई सामना गर्दै यथार्थ विवरण संकलन गर्न निर्देशन दिए। उनले गोपनीयता, निरन्तरता र विश्वसनीयतालाई विशेष प्राथमिकता दिन आग्रह गरे।
आयोजकका अनुसार यो तालिमले गणक र सुपरिवेक्षकलाई आर्थिक तथ्याङ्क सङ्कलन कार्यमा थप दक्ष बनाउँदै गणनालाई प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।