धनगढी, १३ चैत/ धनगढीमा वीगो इलेक्ट्रिक तीनपाङ्ग्रे अटो सार्वजनिक गरिएको छ। जैमिनी अटोमोटिभ्स प्रा।लि। धनगढीका लागि आधिकारिक बिक्रेताको रूपमा उक्त सवारी बजारमा ल्याइएको हो।
कम्पनीका प्रबन्ध निर्देशक कृष्ण उपाध्यायका अनुसार वीगो इलेक्ट्रिक तीनपाङ्ग्रे स्वरोजगारका लागि उपयुक्त, कम खर्चिलो तथा वातावरणमैत्री सवारी साधनका रूपमा प्रस्तुत गरिएको छ। आधुनिक डिजाइन, उन्नत प्रविधि र सहज सवारी अनुभवलाई ध्यानमा राख्दै शहरी दैनिक आवतजावतका लागि उपयुक्त बनाइएको उनले बताए।
कम्पनीले सार्वजनिकसँगै आकर्षक अफर पनि ल्याएको छ। उपाध्यायका अनुसार सार्वजनिक भएको मितिबाट १० दिनभित्र खरिद गर्ने ग्राहकलाई १० हजार रुपैयाँ नगद छुट प्रदान गरिनेछ।
यस सवारीमा लिथियम आयन (एलपिएफ) ब्याट्री प्रणाली प्रयोग गरिएको छ, जसको सिस्टम भोल्टेज ४८ भोल्ट र ब्याट्री क्षमता ८।८ किलोवाट रहेको छ। शक्तिशाली शक्तिशाली (पिएमएसएम) इलेक्ट्रिक मोटर जडान गरिएको यस सवारीले ४।५ किलोवाट निरन्तर पावर र ३६ एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ। दुई–स्पीड एएमटी ट्रान्समिसन प्रणालीले सवारीलाई अझ सहज र स्मूथ बनाउने कम्पनीको दाबी छ ।
चार्जिङका लागि २।२ किलोवाटको अनबोर्ड एसी चार्जर उपलब्ध छ, जसले करिब ४ घण्टामा पूर्ण चार्ज र ३ घण्टा ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। साथै, इको र पावर मोड जस्ता विभिन्न सवारी मोडहरू पनि समावेश छन्।सुरक्षाका हिसाबले हाइड्रोलिक ड्रम ब्रेक, रिजनरेटिभ ब्रेकिङ सिस्टम तथा हिल होल्ड असिस्ट जस्ता आधुनिक सुविधा राखिएको छ। आरामदायी सवारीका लागि ट्विन शोक एब्जर्बर सस्पेन्सन, रेडियल ट्युबलेस टायर र सन्तुलित डिजाइन प्रयोग गरिएको छ।
यो तीनपाङ्ग्रेको अधिकतम गति करिब ४५ किलोमिटर प्रतिघण्टा रहेको छ भने पूर्ण चार्जमा करिब १६० किलोमिटरसम्म चल्न सक्ने कम्पनीले जनाएको छ।हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि नेपालका लागि वीगो इलेक्ट्रिक तीनपाङ्ग्रेको आधिकारिक वितरक रहेको छ। कम्पनीका अनुसार यो सवारी देशभरका शो–रूममार्फत ० प्रतिशत ब्याजदर योजनामा उपलब्ध हुनेछ।