धनगढी, ११ चैत/धनगढी उपमहानगरपालिका–६ मटियारीस्थित भैरव बाबा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको छ। आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले ६० जना विद्यार्थीलाई पोसाक तथा आवश्यक सामग्री प्रदान गरिएको हो।
एनआइएमबी बैंक, धनगढी शाखाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई ट्र्याकसुट, टिसर्ट, जुत्ता, मोजा तथा खानेपानीका लागि बोतल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बहादुर साउँदले जानकारी जानकारी दिएका छन् । उनका अनुसार उक्त सामग्री खरिदका लागि बैंकले करिब दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो।
विद्यालयका प्रधानाध्यापक साउँदले यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीहरूको मनोबल वृद्धि हुनुका साथै नियमित विद्यालय उपस्थितिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् । “पोसाकको अभावका कारण कतिपय विद्यार्थीहरू विद्यालय आउन हिच्किचाउँछन्, यसले उनीहरूको आत्मविश्वास बढाउनेछ,” उनले भने ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्यहरू, अभिभावक, शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सदस्य भिम चौधरी तथा जिल्ला अध्यक्ष श्रवण देउवा लगायतको उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरी रहनुभएको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । उनले निजी क्षेत्रको यस्तो सहयोगले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा सहभागीहरूले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।