धनगढी, १० चैत / कैलालीमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामै ३ सय ९२ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। साउनदेखि फागुनसम्मको अवधिमा उद्योग दर्ता बढ्दै जाँदा स्थानीय उद्यमशीलता विस्तार हुँदै गएको देखिएको छ।
घरेलु तथा साना उद्योग कार्यालय कैलालीका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार उक्त अवधिमा सबैभन्दा बढी १ सय ७२ सेवामूलक उद्योग दर्ता भएका छन्। त्यस्तै १ सय ३२ कृषिमूलक र ८८ उत्पादनमूलक उद्योग थपिएका छन्।
यसै अवधिमा १ सय ७० उद्योगको लगतकट्टा गरिएको कार्यालयले जनाएको छ। हालसम्म जिल्लामा कुल १६ हजार १ सय ४५ घरेलु तथा साना उद्योग दर्ता भइसकेका छन्।
स्थानीय व्यापारतर्फ पनि उत्साहजनक गतिविधि देखिएको छ। चालु आवको सोही अवधिमा वाणिज्य सम्बन्धी ४ सय ४५ फर्म दर्ता भएका छन्।
राजस्व सङ्कलनमा समेत वृद्धि देखिएको छ। कार्यालयले आठ महिनामा १ करोड ८८ लाख ७४ हजार २ सय १० रुपैयाँ राजस्व उठाएको छ, जुन गत आर्थिक वर्ष २०८१र८२ को सोही अवधिमा संकलित १ करोड ६३ लाख ९७ हजार रुपैयाँभन्दा बढी हो।