धनगढी,५ चैत/ बजारमा कृत्रिम ग्यास अभाव हुन नदिन कैलाली उद्योग वाणिज्य सङ्घले धनगढी क्षेत्रमा बजार अनुगमन अभियान सुरु गरेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने देशहरूमा देखिएको असहज परिस्थितिको असर नेपालमा पनि पर्न थालेपछि यस्तो अनुगमन थालिएको हो।
कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीको नेतृत्वमा ग्यास डिलर एसोसिएसनका अध्यक्ष छविराज भट्ट, सङ्घका सचिव प्रकाशबहादुर चन्द लगायतको संयुक्त टोलीले धनगढी बजारका विभिन्न ग्यास डिलर तथा विक्रेताको अनुगमन गरेको हो।
अनुगमनका क्रममा व्यवसायीहरूले सरकारद्वारा तोकिएको न्यूनतम मापदण्ड र मूल्यअनुसार ग्यास बिक्री वितरण गरिरहेका छन् वा छैनन् भन्ने विषयमा विशेष ध्यान दिइएको वरिष्ठ उपाध्यक्ष जोशीले जानकारी दिए। उनका अनुसार बजारमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई ठगी गर्ने गतिविधि रोक्न अनुगमनलाई प्राथमिकता दिइएको छ।
उनले अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा आएको समस्या कारण नेपालमा पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्तिमा असर पर्ने संकेत देखिएकाले समयमै सचेत हुन आवश्यक रहेको बताए। “उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकून् र बजारमा अनियमितता नहोस् भन्ने उद्देश्यले हामीले अनुगमन अभियान सुरु गरेका हौँ,” उनले भने।
अनुगमन टोलीले ग्यासको भण्डारण अवस्था, वितरण प्रणाली, मूल्यसूची तथा बिक्री प्रक्रियाको समेत अवलोकन गरेको जनाएको छ। कुनै पनि व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको पाइए कडा कारबाहीको सिफारिस गरिने समेत सङ्घले चेतावनी दिएको छ।
कैलाली उद्योग वाणिज्य सङ्घले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने र उपभोक्ताको हित संरक्षणमा सक्रिय भूमिका खेल्ने जनाएको छ।