धनगढी, ४ चैत/बाल अधिकारको संरक्षण र प्रवद्र्धनलाई प्रभावकारी बनाउने उद्देश्यले “बाल अधिकारका लागि नागरिक समाज संस्था सुदृढीकरण परियोजना अन्तर्गत सहकार्य औपचारिक रूपमा सुरु गरिएको छ ।
सेभ द चिल्ड्रेन को सहयोगमा सामुदायिक विकास केन्द्र डोटीले सञ्चालन भइरहेको उक्त परियोजनाले प्रदेश सरकार, स्थानीय तह, सरोकारवाला निकाय तथा नागरिक समाज संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ। धनगढीमा आयोजित अनुभव आदान–प्रदान कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाल अधिकारसँग सम्बन्धित नीति, कार्यक्रम तथा कार्यान्वयनका चुनौतीहरूबारे छलफल गर्दै आगामी दिनमा समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा सहभागीहरूले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा समग्र विकासका क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गर्दै समाधानका लागि साझा प्रयास आवश्यक रहेको औंल्याए । साथै, स्थानीय तहमा बालमैत्री वातावरण निर्माण गर्न नागरिक समाज संस्थाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले बालबालिकाको हकहितका लागि प्रदेश सरकार लागि परेको बताईन् ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक सागर बोहराले बालबालिकाहरुलाई लागुऔषधबाट बचाउन चुनौती रहेको बताए । परियोजनाका कार्यकारी निर्देशक हेमराज जोशीले परियोजना अन्तर्गत तीन वर्षमा गर्ने कार्यक्रमबारे जानकारी गराएका थिए ।
संस्थाका सह-सचिव टेकराज अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, प्रहरी, पत्रकार तथा बालबालिकाहरुको उपस्थिती रहेको थियो । परियोजनामार्फत विभिन्न तहका सरोकारवालाबीच सहकार्य विस्तार गर्दै बाल अधिकार सुनिश्चितताका लागि दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।